जनअपेक्षाकृत नै मधेश सरकारको नीति तथा कार्यक्रम आउँछ : अर्थमन्त्री यादव

जनकपुरधाम – मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनअपेक्षाकृत नै आउने बताएका छन् ।

अर्थ मन्त्रालयद्वारा आयोजित पूर्वबजेट सम्बन्धी छलफल कार्यक्रममा मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेट जनताले चाहेको र अपेक्षा गरेकै हिसाबले आउने बताएका हुन् । उनले सोही अनुरुप नीति तथा कार्यक्रम पनि तयार भइरहेको बताए । ‘जनताका अपेक्षा छन्, जनताले आम विषय ठिक भइदिए भन्ने चाहेका छन्, हामीले जनताले चाहेका कुरा नै पूरा गर्नुपर्छ,’ उनले भने ।

प्रदेशको जनताको प्राथमिकतालाई मध्यनजर गरेरै बजेट ल्याउनु आफ्नो उत्तरदायित्व रहेको अर्थमन्त्री यादवले बताए । सीमित स्रोत, साधनका बाबजुद प्रदेश सरकारप्रति जनताको धेरै अपेक्षा रहेको भन्दै उनले यस वर्षको बजेटमा जनताका आवश्यकता र अपेक्षालाई मुख्य प्राथमिकतामा राखिने दाबी गरे ।

प्रदेश सरकारले मधेस प्रदेशका ८ वटै जिल्लाका हरेक वडामा देखिने गरी बजेटको व्यवस्था गर्ने उनको भनाइ छ ।

कार्यक्रममा सहभागी सांसद र प्रतिनिधिहरुले बजेटमा अनावश्यक कुरा समेटिनुभन्दा पनि खर्च दर बढाउन सुझाव दिएका थिए । साथै, पछिल्लो समय भुक्तानीका विषयहरु विवादित बन्दै गएको भन्दै सहभागीहरुले त्यसलाई व्यवस्थित गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा मधेस प्रदेशका सांसद, प्रदेश सरकार मातहत निकायका पदाधिकारी र नीति आयोगका पदाधिकारीहरुको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस