विद्यालय प्रशासनले हुकिङ गर्न लगाउँदा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजविराज, १२ जेठ । विद्यालय प्रशासनको लापरवाहीका कारण राजविराजस्थित शिब इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययरत एक विद्यार्थीको शुक्रवार विहान करेन्ट लागेर मृत्यु भएको छ ।

कक्षा १० मा अध्ययरत जिल्लाको राजगढ गाउँपालिका–१ झुटकीका लक्ष्मणप्रसाद यादवको १५ वर्षीय छोरा पेशलानन्द यादवको करेन्ट लागेर मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार विद्यालयले नियमित रुपमा शुक्रबार आयोजना गर्दै आएको खेदकुद प्रतियोगिताको लागि पेशलानन्दलाई स्पिकर बजाउनका लागि विद्युतको पोलमा हुकिङ गर्न खटाइएको थियो ।

हुकिङ गर्ने क्रममा ११ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो । सोही क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले करेन्ट लागेर विद्यार्थीको मृत्यु भएको पुष्टि गरे । ‘घटनाबारे अनुसन्धान भइरहेको छ’ उनले भने ।

घटनाबारे विद्यालयका प्रिन्सिपल नरेशप्रताप साहसँग बुझ्न खोज्दा फोन उठाएन ।

Author:



क्याटोगरी छान्‍नुहोस