मीराको नागरिकता प्रकरणमा वडा कार्यालयको पत्र : ‘पति–पत्नी भारतीय नै हुन्’

राजविराज, २२ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतीय नागरिक नै रहेको भनि पुष्टिसहितको पत्र वडा कार्यालयले काटेको पाइएको छ ।

मधेशलाईभलाई प्राप्त भएको वडा नम्बर ६ कार्यालयको १९ साउन, २०७९ को एक पत्र बमोजिम यादव दम्पती भारतीय मुलका स्थानीय नागरिक रहेको प्रष्ट गरेको हो । दुवै जनाले झुठो विवरण पेस गरी नेपाली नागरिकता प्रमाणपत्र लिएर डाक्नेश्वरी नगरपालिका-६ स्थित औरहीमा बसोबास गर्दै आएको वडा अध्यक्ष कुशेश्वर प्रसाद यादवबाट जारी भएको उक्त पत्रमा उल्लेख छ ।

नागरिकता सम्बन्धि कसूरमा उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि गत आइतवार जिल्ला प्रहरी कार्यालयमा दुवै जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्तासँगै मंगलबार पक्राउ पुर्जी जारी भएपछि उपमेयर मीरा बुधवार प्रहरीसमक्ष उपस्थित भएकी थिइन् । उनीविरुद्ध ३ दिन म्याद लिई थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

यद्यपी, उनका पति महेन्द्र भने अझैं फरार छन् । उनको खोजी भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

यसरी भयो मुद्दा दर्ता

सोही नगरपालिका–४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेस राजविराज नगरपालिका–९ का ५७ वर्षीय परमेश्वर यादवमार्फत उच्च अदालतमा दायर गरेको मुद्दामा प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको ८ महिना वितिसक्दा समेत कारबाही प्रक्रिया अघि नबढाइएको उल्लेख छ । कृष्णले गत साउनको दोस्रो साता जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको उजुरी दिएका थिए ।

उजुरीअनुसार विधानसभा निर्वाचन क्षेत्र विहार निर्वाचक नामावली भाग सं.५१ अनुसार श्रीमान् श्रीमति दुवै भारतीय मुलका स्थायी नागरिक रहेता पनि झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएका छन् । ‘नेपाल देशमा मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजीतले साविकको सप्तरीको औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिई मिरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशिल न्यायिक समितिको संयोजक पदमा बसी पदिय दायित्व दुरुपयोग गरिरहेकी छन्’, उजुरीमा उल्लेख छ ।

मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उनका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्द गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमार्फत माग गरिएको थियो ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम रहेको भने अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न प्रमाण राखिएको छ ।

सो उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोदार्थ गर्दा समेत अहिलेसम्म कुनै कारबाही नभएको उल्लेख रहेको छ ।

कृष्णले दुई महिनाअघि उच्च अदालतमा दायर मुद्दा गरेको सो मुद्दामा गत जेठ ५ गते न्यायाधिसद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेशको आदेश जारी भएको थियो ।

उता, उपमेयर मीराले आफु नेपाली नै रहेको बताउँदै आएकी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस