मिडिया क्षेत्रको बजेट अविलम्ब थप्न प्रदेश सांसद रामअशिषको माग

जनकपुरधाम – मधेश प्रदेश सरकारले मिडिया क्षेत्रको बजेट कटौती गरी उपेक्षा गरेकोप्रति मधेश प्रदेश सभाका सदस्य रामअशिष यादवले आक्रोश व्यक्त गर्दै अविलम्ब बजेट थप्न माग गरेका छन् ।

प्रदेशसभाको विहीबार ३३औं बैठकमा बोल्दै उनले प्रजातन्त्र, लोकतन्त्र, माओवादी जनयुद्ध, मधेश आन्दोलन लगायतका अधिकारप्राप्तिका आन्दोलनहरुमाा महत्वपूर्ण भूमिका निभाएको बताउँदै भने ‘मिडिया लोकतन्त्रको अक्सिजन हो, आलोचनाबाट डराउनु हँदैन, पत्रकारिताले सचेत गराउनु दायित्व हो ।’ भारतका पहिलो प्रधानमन्त्री पं. जवाहरलाल नेहरु विरुद्ध मिडियाले नलेखेपछि उनले कहिँ म स्वेच्छाचारी त भईरहेको छुइनँ भनी सोचेर आफै विरुद्ध नाम बदलेर पत्रिकामा समाचार प्रकाशन गरेको प्रदेश सभा सदस्य यादवले उदाहरण प्रस्तुत गरे ।

मधेश प्रदेशका मिडियाहरुको संरक्षणका लागि लोककल्याणकारी विज्ञापन, पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा, वृति विकासका लागि समुचित बजेट थप्न उनले  प्रदेशसभामा जोडदार माग गरे ।

मिडियाको आलोचनाबाट नडराउन आग्रह गर्दै जनताले अनुभूति हुने गरी परिणाममुखी कार्यक्रम तथा योजनाहरु सञ्चालनमा ल्याउन जनता समाजवादी पार्टीबाट दोस्रो पटक निर्वाचित प्रदेश सांसद यादवले सरकारको ध्यानाकर्षण गराए । अर्थ मन्त्रालयले मिडिया क्षेत्रलाई उपेक्षा गरेको भन्दै यस अघि बुधबारको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यहरु सतिश कुमार सिंह, माला कुमारी कर्ण, ललिता दास (विद्रोही) लगायतले मिडिया क्षेत्रका लागि बजेट थप्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

तत्कालिन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले मिडिया क्षेत्रको विकास एवम् प्रवद्र्धनका लागि आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल गठन गरी समुचित बजेट व्यवस्थापन गरेका थिए ।

लोककल्याणकारी विज्ञापनका लागि वार्षिक दुई करोड रुपैयाँ विनियोजन गर्दैआएकोमा आर्थिक वर्ष २०८०/०८१ का लागि अर्थ मन्त्रालयले एक करोड पचास लाख कटौती गरी मात्र पचास लाखमा झारेको छ । यसैगरी आमसञ्चार प्राधिकरणको वार्षिक बजेट एक करोड पचास लाख रहेकोमा यो वर्ष कटौती गरी २५ लाख तथा मिडिया काउन्सिलको वार्षिक बजेट एक करोड रुपैयाँ रहेकोमा यो वर्ष घटाएर २५ लाखमा झारेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस