सप्तरीमा ९ मिटरब्याजीविरुद्ध मुद्दा चलाइयो, २ जना पक्राउ

राजविराज – सप्तरीमा हालसम्म ९ जना मिटरब्याजी विरुद्ध मुद्दा चलाइएको छ भने तीमध्ये २ जनालाई नियन्त्रणमा समेत लिइएको छ ।

सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेर मीटरब्याज पीडितको समस्या समाधान गर्न गत वैशाख १७ देखि जेठ ७ गतेसम्म उजुरी दर्ताका लागि आह्वान गरेको थियो ।

सोहीअनुसार जिल्ला प्रशासन कार्यालयमा १ हजार ५ सय ८९ वटा उजुरी दर्ता भएको थियो ।

उजरीपछि छलफलबाट समाधान हुन नसकेका ९ जना मिटरब्याजी विरुद्ध मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उनकाअनुसार राजविराज नगरपालिका–६ का मनोजकुमार दास, डाक्नेश्वरी नगरपालिका–९ घर भई हाल राजविराज नगरपालिका–६ का रामप्रसाद साह, उनका छोरा रविन्द्रकुमार साह, डाक्नेश्वरी नगरपालिका–९ कै रुपेशकुमार सिंह, तिलाठी कोइलाडी गाउँपालिका–४ का रंजितकुमार सिंह विरुद्ध मुद्दा दर्ता भएको छ ।

त्यस्तै, डाक्नेश्वरी नगरपालिका–१२ का शिवनारायण यादव, वडा नम्वर ९ का ओमप्रकाश साह, ९ कै द्रोपतिकुमार साह र सोही ठाउँकी विन्दु साह तेली विरुद्ध मुद्दा चलाइएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

उनीहरु विरुद्ध अनुचित लेनदेन तथा आपराधिक विश्वासघात र ठगी आपराधिक विश्वासघात तथा अनुचित लाभ शिर्षकमा मुद्दा चलाइएको छ । मुद्दा चलाइएकामध्ये मनोजकुमार र रामप्रसादलाई नियन्त्रणमा लिएर म्याद थप गराइएको जनाएको छ ।

त्यस्तै, हालसम्म ४ सय ८८ वटा उजुरीमाथि छलफल हुँदा ५२ वटा उजुरीमा मिलापत्र भएको प्रहरी उपरीक्षक कार्कीले बताए । ‘अन्य उजुरीमा पनि छलफल भइरहेको छ’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस