जनकपुरधाममै बीएससी एजीको अध्ययन–अध्यापन

जनकपुरधाम – मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक बीएससी एजीको अध्ययन–अध्यापन हुने भएको छ ।

जनकपुरधाम स्थित जनकपुर कम्युनिटी कलेज (जेसीसी)मा बीएससी एजी (ब्याचलर अफ साइन्स (अनर्स) इन एग्रीकल्चरको अध्ययन अध्यापनको अनुमति पाउने मधेश प्रदेशमै पहिलो कलेज हो ।

पुर्वाञ्चल विश्वविद्यालयको नयाँ पाठ्यक्रमको लागि सम्बन्धन प्राप्त गरेको उक्त कलेजले यसै शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न लागेको प्रिन्सिपल डा. सोहन प्रसाद साहले जानकारी दिएका छन् ।

पुर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त गर्ने क्रममा विश्वविद्यालयको तर्फबाट योजना महाशाखाका प्रमुख डा. कोमल दुलाल र कलेजको तर्फबाट सञ्चालक समुहका अध्यक्ष अमित ठाकुर र सदस्यहरु डा. सोहन प्रसाद साह, सुरुची लाल, अनिल कुमार साह, आशिष कुमार झा र ज्योत्सना क्रान्तिको उपस्थितिमा अनुमति–पत्रमा हस्ताक्षर गरेका हुन् । प्रिन्सिपल डा. साहका अनुसार शैक्षिक वर्ष २०८०–८४ का लागि शुरु हुने नयाँ पाठ्यक्रममा भर्नाका लागि ४८ सिट उपलब्ध हुने छन् । साथै पाँच ओटा सिट छात्रवृतिमा उपलब्ध गराइनेछ ।

चार वर्षको कार्यक्रममा कृषिका विभिन्न प्रक्षहरु जस्तै बाली उत्पादन, माटो विज्ञान, विरुवा रोग विज्ञान, पशुपालन, कृषि व्यवसाय, कृषि अर्थशास्त्र, बायोटेक्नोलोजी लगायतका विषयहरु समेट्ने जानकारी दिएका छन् ।

कोर्सको थालनीले जनकपुर र नजिकैका क्षेत्रहरुमा कृषिको डिग्री खोज्ने विद्यार्थीहरुको पहुँचमा वृद्धि हुने अपेक्षा गरिएको छ । उक्त कलेज रामानन्द चौक वडा नम्बर ८ स्थित अग्नीकुण्ड नजिक अवस्थित छ ।

Author:



क्याटोगरी छान्‍नुहोस