पीडित काजललाई बोलाएर प्रहरीले भन्यो– उजुरी दिनुस्, कारबाही गर्छौँ

प्रहरीले बोक्सी आरोपमा आफ्नै श्रीमतीलाई बर्बर यातना दिने महोत्तरीको पिपरा गाउँपालिका– ३ का विनोदकुमार दासविरुद्ध उजुरी लिने भएको छ । बोक्सी आरोपमा श्रीमान्ले कुटपिट गरेको भन्दै काजलकुमारी देवी १ साउनमा उजुरी लिएर पुगे पनि प्रहरीले कुटपिटको मात्र निवेदन लिएर पछि छलफलबाट टुंग्याउने प्रयास गरेको थियो ।

नयाँ पत्रिकाले बिहीबार यसबारे समाचार प्रकाशन गरेपछि जिल्ला प्रहरी कार्यालयले पीडित महिलालाई बोलाएर ‘बोक्सी आरोपमा कुटपिट भएको भनेर उजुरी दिन’ भनेको छ । ‘आज पुलिसले बोलाउनुभएको थियो । पहिले उजुरी दिँदा बोक्सीको आरोप नभनी किन कुटपिटको मात्र निवेदन दिएको भनेर सोध्नुभयो,’ काजलले भनिन्, ‘मैले त्यतिखेर नै बोक्सी भन्दै कुटपिट गरेको बताएकी थिएँ । तर, उजुरी लेख्ने प्रहरीले लेखेनन् । पछि छलफलमा पनि यो कुरा उठाउँदा कुनै सुनुवाइ भएन भनेर भनिदिएँ ।’ आफूले न्याय पाउँदिनँ भन्ने लागेकामा अब प्रहरीले पनि उजुरी लिएर आउन भनेपछि आशा जागेको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलीपकुमार गिरीले पीडितलाई बोलाएर सत्यतथ्य घटनासहितको जाहेरी लिएर आउन भनेको बताए । ‘यो ज्यादै संवेदनशील घटना हो, हामी जाहेरीको प्रतीक्षामा छौँ, सम्भवतः भोलिसम्म जाहेरी आउँछ होला,’ उनले भने । यसअघि पीडित जिल्ला प्रहरी कार्यालयमा आएका वेला आफू विपत् व्यवस्थापनसम्बन्धी बैठकमा रहेकाले यसबारे प्रहरी निरीक्षक सरोज राईले परामर्श दिएको उनले बताए ।

घटनाबारे राष्ट्रिय महिला आयोगकी सदस्य विद्या सिन्हा र अन्य अधिकारकर्मीहरूले समेत फोन गरी चासो राखेको डिएसपी गिरीले बताए । काजलको मनोपरामर्श तथा कानुनी उपचारका लागि राष्ट्रिय मानव अधिकार आयोगको मधेस प्रदेश कार्यालय, ओरेक महोत्तरी र नगर महिला अधिकार रक्षक सञ्जालले लड्ने भएका छन् ।

ओरेक महोत्तरीकी जिल्ला संयोजक विना सिंहले पीडितको सम्पूर्ण घटना खुल्ने गरी शुक्रबार वैतनिक वकिलमार्फत जाहेरी लेखाएर प्रहरीमा दर्ता गराइने बताइन् । उनका अनुसार काजलमाथि भएको बोक्सीको आरोप, कुटपिट, गाउँ निकालाको तमसुकविरुद्ध जाहेरी दिइनेछ । ‘पीडितको हकमा मुद्दा लड्नसमेत वकिलको प्रबन्ध मिलाउन ओरेकले माथिल्लो स्तरमै छलफल गरिरहेको छ,’ उनले भनिन् ।

बोक्सीको आरोपमा कुटपिट गर्नेलाई आठ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने व्यवस्था बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ मा छ । यो ऐनमा ‘कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने, रासायनिक, विषालु, जैविक पदार्थ प्रयोग गरी वा अन्य किसिमले यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी र नपारी कुनै ठाउँमा घुमाउने वा कुनै किसिमले क्रूर अमानवीय वा अपमानजनक व्यवहार गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद सजाय र ५० हजारदेखि एक लाखसम्म जरिवाना’को व्यवस्था छ ।

महिला आयोगले न्यायका लागि पहल गर्ने 
पीडित काजलको न्यायका लागि राष्ट्रिय महिला आयोगले पनि पहल गर्ने भएको छ । आयोग सदस्य जया घिमिरेले बोक्सी आरोपमा कुटपिट गरेर सम्बन्धविच्छेदसहित गाउँ निकालाको तमसुक बनाएको घटना निकै ज्यादतीपूर्ण भएकाले यसलाई आयोगले गम्भीरतापूर्वक लिएको बताइन् । उनका अनुसार आयोगको टोलीले स्थलगत अनुगमन गर्ने भएको छ भने पीडितको न्यायका लागि पहल गर्नेछ । उनले पीडितको सुरक्षा, स्वास्थ्य उपचार, क्षतिपूर्ति र आश्रयस्थलसमेतको व्यवस्था राज्यले गनुपर्र्ने बताइन् ।

इन्सेक मधेस प्रदेश प्रमुख राजु पासमानले बोक्सी आरोपमा कुटपिट गर्नेलाई कारबाही गरेर पीडितलाई न्याय दिनुपर्ने बताए । उनले मधेसमा बोक्सीको आरोपमा यातनाका घटना धेरै रहे पनि प्रहरीले सहजै उजुरी लिन नमान्ने गरेको बताए । यस घटनाबारे इन्सेकले पनि अध्ययन गर्ने पासमानले बताए ।

झुक्यानमा पारेर तमसुकमा हस्ताक्षर गरेको भन्दै रिता र चन्द्रा पनि प्रहरीमा
आफूहरूलाई झुक्यानमा पारेर काजललाई गाउँ निकाला गर्नेसम्बन्धी तमसुकमा हस्ताक्षर गराएको भन्दै पिपरा गाउँपालिका– ४ की वडासदस्य रिता महरा र स्थानीय चन्द्रादेवी पनि प्रहरीमा पुगेका छन् । तर, प्रहरीले पीडितको जाहेरी आएपछि मात्र उजुरी लिने भन्दै दुवैजनालाई फिर्ता गरिदिएको छ ।

‘म पढ्न सक्दिनँ, नाम लेख्नसम्म सिकेकी छु, तर काजललाई अंश नदिने र गाउँ निकाला गर्ने भनेर तमसुक बनाएर मलाई हस्ताक्षर गर्न लगाए,’ वडासदस्य महराले भनिन्, ‘मलाई झुक्याउनेलाई कारबाही गरिपाउँ भनेर प्रहरीमा गएकी थिएँ । तर, प्रहरीले पहिले पीडितको जाहेरी लिएपछि मात्र उजुरी लिने भन्दै फर्काएको छ ।’ डिएसपी गिरीले सम्बन्धविच्छेद भएको, अंश नपाउने र गाउँमा बस्न नपाउने गरी गरिएको तमसुकले कानुनी वैधता नपाउने र यससम्बन्धी पीडितले उजुरी दिएमा अनुसन्धान हुने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस