राजविराजका मेयर भीमराजसहित ३ जना भ्रष्टाचारी ठहर, ४ जनाले पाए सफाइ

काठमाडौं – विशेष अदालतले न्यू गाहिल कन्स्ट्रक्सनका सञ्चालक तथा राजविराज नगरपालिकाका मेयर भीमराज यादवसहित तीन जनालाई भ्रष्टाचारी ठहर गरेको छ भने अन्य चार प्रतिवादीलाई भने सफाइ दिने फैसला भएको छ ।

बिहीबार विशेषका अध्यक्ष न्यायाधिस श्रीकान्त पौडेल र न्यायाधिस बलभद्र बाँस्तोलाको इजलासले यस्तो फैसला गरेको हो । फैसलाअनुसार मेयर यादवलाई यादवलाई दुई लाख ६३ हजार चार सय ६८ जरिवाना भएको छ । त्यस्तै, उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठलाई दुई लाख ३६ हजार एक सय ९७ रुपैयाँ जरिवाना भएको छ ।

उनीहरुले ऐनको दफा ८(४) बमोजिम कसुर गरेको ठहर भएकोले असुलउपर गर्ने फैसलामा उल्लेख छ । त्यस्तै, जिल्ला समन्वय समिति सप्तरीको इन्जिनियर विकास श्रेष्ठलाई कसुरदार ठहर गर्दै तीन महिना कैद सुनाएको छ ।

विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार विकासलाई दुईवटा मुद्दामा तीन–तीन महिना कैद तोकिएको छ भने इजलासले जरिवानासमेत निर्धारण गरेको छ ।

विशेषले इन्जिनियर विकास श्रेष्ठले भ्रष्टाचार निवारण ऐनको दफा १९(२) बमोजिम गलत प्रतिवेदन दिएको र दफा ८(१)(ग) बमोजिमको कसुर गरेको भन्दै दुवै कसुरमा तीन–तीन महिना कैद हुने फैसला गरेको हो । साथै, चार लाख ९९ हजार ६६५ रुपैयाँ जरिवानासमेत तिराउने फैसला गरेको छ ।

आर्थिक वर्ष ०७३–७४ मा राजविराजस्थित राज रंगशालामा स्तरोन्नति कार्यमा मिलेमतोमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले २९ असार ०७९ मा सातजनालाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । जसमध्ये तीनजनाले कसुर गरेको विशेष अदालतको फैसला छ ।

त्यस्तै, मुद्दाका प्रतिवादीहरू खेलकुद विकास समितिका अध्यक्ष एजेन्ट न्यासुर, उपाध्यक्ष धीरेन्द्र बर्मा, समितिका तत्कालीन कार्यालय प्रमुखहरू महेन्द्रप्रसाद यादव र लक्ष्मण मण्डललाई विशेषले सफाइ दिएको छ । अख्तियारले मुद्दा चलाएको एक वर्षमा विशेषले आंशिक ठहर हुने फैसला गरेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस