जनकपुरधाम । जिल्ला अदालत महोत्तरीले आफ्नै श्रीमतीलाई बोक्सी आरोपमा बर्बर यातना दिने विनोद दासलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत महोत्तरीका न्यायाधीश कमला पौडेलको एकल इजलासले थुनछेक बहसपछि विनोदलाई पुर्पक्षका लागि थुनामा र उनकी जेठी श्रीमती शिलादेवी दाससँग तीन लाख धरौटी माग गरेको हो । अदालतको आदेशसँगै दास जलेश्वर कारागार चलान भएका छन् ।
पीडितको तर्फबाट अधिवक्ताद्वय रक्षा अर्याल र रिंकुकुमारी यादवसँगै जिल्ला सरकारी वकिल कार्यालयका सहायक सरकारी वकिल सुदीप रायले बहस गरेका थिए ।श्रीमान् र उनकी जेठी श्रीमतीले बोक्सी आरोपमा पटक–पटक निर्मम यातना दिएको भन्दै पिपरा गाउँपालिका– ३ की काजलकुमारी दास प्रहरी हुँदै अदालत पुगेकी थिइन् ।
३२ असारको राति तथा १ साउन बिहान श्रीमान्बाट चरम यातना दिइएको भन्दै काजल प्रहरीमा पुगेकी थिइन् । तर, जिल्ला प्रहरी कार्यालयबाहिर ४ साउनमा अंश नलाग्ने, नाता सम्बन्ध नलाग्ने र गाउँसमेत निकाला हुने गरी तमसुक लेखाइएको थियो ।
यो घटनाको चर्काे आलोचना भएपछि प्रहरीले पीडितको जाहेरी लिएको थियो । पीडितको तर्फबाट परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी १२ भदौमा सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा ‘मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ३२ अन्तर्गत बोक्सी आरोपमा मुद्दा दायर गरेको थियो ।
काजलका श्रीमान् विनोद, शिलासँगै सासू सुमित्रादेवीलाई बोक्सी आरोपमा यातना दिएको आरोपमा प्रतिवादी बनाइएको छ भने वडासदस्य किसुनी दास, सोही ठाउँका श्यामसुन्दर दास, वडासदस्य रितादेवी महरा, स्थानीय चन्द्रादेवी महरालाई कानुनविपरीतको तमसुकमा सहीछाप गरेको भनी आरोपी बनाइएको छ । झारफुक र तन्त्रमन्त्र गरी काजललाई बोक्सी घोषित गरेका धामी दिनेश यादवलाई समेत आरोपी बनाइएको छ । यादव फरार छन् ।