अध्यक्ष उपेन्द्र यादवद्वारा कृषि विश्वविद्यालय भवन शिलान्यास

राजविराज–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले दक्ष जनशक्ति उत्पादन गरी मधेश कृषि विश्वविद्यालयले आर्थिक समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

राजविराज नगरपालिका वडा नम्बर १३ स्थित विसहरियामा सोमबार आयोजित विश्वविद्यालय भवन निर्माणार्थ भूमिपूजन एवम् शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । वर्षौंंदेखिको सपना साकार हुन पाएकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘राजविराजमा आज कृषि विश्वविद्यालयको भूमिपूजन एवम् शिलान्यास गर्न पाउनुले म अत्यन्तै खुशी छु, दक्ष जनशक्ति उपादन गरी कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै रोजगारी तथा आर्थिक समृद्धिमा योगदान मिल्नेमा विश्वस्त छु ।’

समारोहमा अपार सहभागिताले आफुमाथि जिम्मेवारी थएिको बताउँदै उनले यस कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यवाद् दिए । निर्माण कार्य सम्पन्न गरी लक्ष्यप्राप्तितर्फ बढ्न विश्वविद्यालयलाई शुभकामना दिँदै जसपा अध्यक्ष यादवले आफुबाट हुनसक्ने सहयोग र पहलकदमी लिन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले यस अघि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जनप्रतिनिध रहँदा कृषि विद्यालय, नर्सिङ्ग कलेज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, इन्जिनियरिङ्ग कलेज, ५० बेडको गजेन्द्रनारायण सिंह अस्पताललाई ४२० बेडमा स्तरोन्नती गर्दै सुविधासम्पन्न भवन निर्माण, सामुदायिक विद्यालयहरुमा पक्की भवन, आधा दर्जन पक्की सडकका कामहरु गरेका छन् । कृषि विश्वविद्यालय समेत वहाँकै पहलमा प्रदेश सरकारको आर्थिक सहयोगमा अगाडि बढेको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कृषि विद्यालय प्रदेश सरकारको गौरवका योजनामा रहेको यस विश्वविद्यालयलाई आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले विश्वविद्यालय परिवारलाई उच्च मनोबलका साथ अगाडि बढन् समेत निर्देशन दिए ।

पूर्व मुख्यमन्त्री लालबाबु राउतले आफु मुख्यमन्त्री हुँदै उपेन्द्र यादवकै निर्देशनमा राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको स्मरण गराए । प्रतिकुल अवस्थाका बावजुद पनि प्रदेश सरकारले यसलाई प्रदेश गौरवको योजनामा राखेकोले देशकै उदाहरणीय विश्वविद्यालयको रुपमा स्थापित हुने उनले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपानेले मधेश प्रदेशको सप्तरी जिल्लामा विश्वविद्यालथ स्थापना हुनु र भवन निर्माणको पनि शिलान्यास हुनु गौरवको कुरा भएको बताए । कृषिबाटै प्रदेश र देशको आर्थिक समृद्धि हुने भएकोले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । विश्वविद्यालयका उपकुलपति डा.वैद्यनाथ महतोले स्थापनादेखि शिलान्याससम्मको गतिविधिहरुबारे जानकारी गराए ।

मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष ०७८/०७९ मा १ अर्ब ४९ करोड रुपैयाँ वहुवर्षिय योजना शीर्षकमा सुनिश्चित गरेको थियो । सोही अनुरुप भवन निर्माणका लागि गत आर्थिक वर्षमा ३९ करोड पठाइएको छ भने चलु आर्थिक वर्षमा ३० करोड विनियोजन गरिएको छ ।
विश्वविद्यालयको २६ बिघा आठ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणका लागि एकअर्ब रुपैयाँमा ठेक्का बन्दोबस्त गरिएको विश्वविद्यालयका रजिष्ट्रार श्रीभगवान ठाकुरले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस