मलेप प्रारम्भिक प्रतिवेदन–ऐन विपरित अध्यक्ष र उपाध्यक्षले खाए साढे ४ लाखको मिठाई र नास्ता

राजविराज–सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले ऐन विपरित साढे ४ लाख रुपैयाँको मिठाई र नास्ता खाएको पाइएको छ ।

महालेखापरीक्षकको गत वर्षको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनअनुसार अध्यक्ष दिनेशकुमार यादव र उपाध्यक्ष पुष्पाकुमारी श्रेष्ठले ऐन विपरित साढे ४ लाख रुपैयाँको मिठाई र नास्ता खाएका हुन् । उनीहरुले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन २०७७ विपरित दोहोरो सेवा–सुविधा लिएको प्रतिवेदनमा उल्लेख रहेको छ ।

मधेश प्रदेश सरकारको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन २०७७ अनुसार अध्यक्षलाई अतिथी सत्कारको लागि १५ हजार र उपाध्यक्षलाई १० हजारका दरले मासिक तलब भत्तामै दिने व्यवस्था रहेको छ । तर, अध्यक्ष यादवले गौश्वारा भौचर नम्वर २३–०७९ कार्तिक २ गते शम्भुनाथ मिष्ठान भण्डार एण्ड होटलबाट १ लाख ७२ हजार ५६३ रुपैयाँ, गौश्वारा भौचर नम्वर २६–०७९ कार्तिक २ गते अजय होटल रुपनी–१ बाट ४७ हजार १० रुपैयाँ, गौश्वारा भौचर नम्वर २१३–०७९ चैत्र २८ गते जय माँ रुपनीदेवी मिष्ठान भण्डारबाट ४८ हजार ८८० रुपैयाँ मिठाई र नास्ता खाएका छन् ।

त्यस्तै, गौश्वारा भौचर नम्वर २९८–०७९ चैत्र १७ गते शम्भुनाथ एग्रिकल्चर एण्ड एनिमल फर्म प्रालिलाई पनि ४९ हजार ९८८ रुपैयाँ ऐन विपरित अतिथी सत्कारका लागि अध्यक्ष यादवको सिलिप र आदेशअनुसार भुक्तानी दिइएको प्रतिवेदनमा जनाइएको छ ।

उपाध्यक्ष पुष्पाकुमारी श्रेष्ठलाई पनि ऐन विपरित अतिथी सत्कारका लागि गौश्वारा भौचर नम्वर २६४–०७९ असार ६ गतेबाट आरती होटल रुपनी–१ लाई १ लाख ३६ हजार ७५७ रुपैयाँ भुक्तानी दिइएको छ । सो भुक्तानी पनि उपाध्यक्ष श्रेष्ठको सिलिप र आदेशअनुसार भुक्तानी दिइएको प्रतिवेदनमा जनाइएको छ ।

अतिथी सत्कारका लागि ऐन विपरित दोहोरो सेवा सुविधामा खर्चिएको कुल ४ लाख ५५ हजार १९८ रुपैयाँ अध्यक्ष यादव र उपाध्यक्ष श्रेष्ठसँग असुल गरी दाखिला गर्नुपर्ने प्रतिवेदनमा सुझाइएको छ ।

गाउँपालिका अध्यक्ष यादवले कार्यालय प्रमुख नरहेको बेला कार्यपालिका बैठकसहित अन्य अतिथीहरुको चिया, नास्तका लागि सो रकम खर्च भएको बताए । ‘पहिलो कुरा त सुरुमा थाहा थिएन र हाकिम नरहेको बेला कार्यपालिका बैठक र दैनिक आउने गरेका एक–डेढ सय जना अतिथीलाई चिया र नास्तामा सो रकम खर्चिएको हो, मिठाईको मात्रै होइन’ अतिथी सत्कारका लागि मासिक १५ हजार रुपैयाँ त पाइरहनुभएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘कहिलेकाहीँ विद्यार्थीहरु गेम जितेर आएपछि त्यसमा शिक्षक र विद्यार्थीलाई नास्ता खुवाउनुपर्छ, त्यसैहरुमा सो रकम खर्चिएको हो तर असुल गर्न सुझाएको छ भने व्यर्होनेछौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस