उपेन्द्र यादवले भने ‘राजनीतिमा युवा आउनु सकारात्मक तर वैचारिक अध्ययन अभाव’

 

जनकपुरधाम, ५ फाल्गुन । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ पुस्ता राजनीतिमा आउनु सकारात्मक रहे पनि अधिकांशमा वैचारिक र सैद्धान्तिक अध्ययन कमजोर रहेको बताएका छन् ।

समाजवादी युवा संघ केन्द्रिय समितिद्धारा शनिवार जनकपुरधाममा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय उदयमान भएको राजनीति पार्टीको कमजोर  विचार, सिद्धान्त र राजनीति संस्कारका कारण पनि यस्तो हुन् गएको बताउँदै अध्यक्ष यादवले नयाँ दलमा अधिकांश युवाहरुमा राजनीति संस्कार, बिचार र सिद्धान्तको कमी रहेको बताए । 

पहिला युवा एउटा बिचारधारा प्रष्ट हुने गरेकोमा पछिल्लो समयका युवाहरु अपवाह “रियूम्र्स”को पछाडि बढी लाग्ने गरेको भन्दैँ उनले चिन्ता व्यक्त गरे । अबको राजनीति अध्ययन बिना फिक्का हुने भन्दैँ युवाहरुलाई बढी भन्दा बढी अध्ययन गर्नुपर्नेमा उनले जोड दिए । 

मधेश प्रदेश सरकार आन्तरिक, सञ्चार तथा कानुन मन्त्रालयका पुर्व मन्त्री ज्ञानेन्द्र कुमार यादवले अबको समयमा बौद्धिक प्रशिक्षणले मात्रै सङ्घीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्न सक्ने बताए । पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध विभिन्न षडयन्त्रहरु सुरु भएको भन्दैँ युवाहरु सचेत हुने अवस्था आएको समेत जसपा अध्यक्ष यादवले बताए । 

मधेश प्रदेश सरकारका उर्जा, सिचाँई तथा खानेपानी मन्त्री सिहांसन सा कलवारले युवाहरुमा अध्ययनमा रुची घट्दै गएको भन्दैँ चिन्ता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय मुलुकमा आएको नकारात्मक राजनीतिक ट्रेन्डका कारण युवाहरुले अध्ययनमा रुची नदेखाएको समेत टिप्पणी गरे । 

जसपा मधेश प्रदेशका नवनियुक्त अध्यक्ष बालकिशोर यादवले युवाको व्यक्तिगत, राजनीतिक र साङ्गठनिक जीवनमा निखारता ल्याउने बताए । युवालाई अनुशासित हुनु जरुरी रहेको बताउँदै पार्टीले लिएको लक्ष्य पाउन सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । मधेश प्रदेश स्थापित गर्नकालागि पार्टीका युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण जरुरी रहेको बताए । 

कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य बिक्की यादवले युवाहरु देश विदेशमा परिवर्तन ल्याए तर आर्थिक समृद्धिको बाटोमा कसरी हिड्न सकिन्छ त्यस तिर साकारात्मक रुपमा अगाडि बढ्नकालागि युवाहरुलाई आग्रह गरे । युवाहरुमा आत्मविश्वासको आवश्यकता रहेको बताउँदै अधिकार पाउने सवालमा युवाहरु बञ्चित हुनुको कारण नै हामी युवा सङ्गठित नहुनु रहेको बताए । युवा गलतको विरोध र सहीको समर्थन गर्न छाडे कुनै पनि अवस्थामा परिवर्तन हुन नसक्ने दावी गरे ।

शनिबारदेखि शुरु भएको सो कार्यक्रममा फाल्गुन ८ गतेसम्म चल्ने छ । सो कार्यक्रममा जनता समाजवादी पार्टी(जसपा) नेपालका भातृसंगठन समाजवादी युवा संघका सातै प्रदेशका पदाधिकारीहरुको उपस्थित रहेको छ । तीन दिवसीय चल्ने सो कार्यक्रममा जसपा अध्यक्ष यादव मुख्य प्रशिक्षक रहेका छन् । प्रशिक्षणमा राजनीति शास्त्र, समाजवाद शास्त्र, सङ्घीयता, मधेश, मधेश आन्दोलन, विश्व राजनीति, राज्य सञ्चालनका विधि प्रक्रिया, विश्व क्रान्ति लगायत विषयहरु रहेको जनाईएको छ । यसअधि जसपा अध्यक्ष यादवले जसपाका भातृ सङ्ठनहरु समाजवादी महिला संघ, प्रेस मञ्च नेपाल र मधेश प्रदेश समितिका पदाधिकारीहरुलाई प्रशिक्षित गरिसक्नु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस