लुम्बिनीका प्रदेश सांसद यादवसहित १९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

जनकपुरधाम–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका राप्रपा सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

कपिलवस्तुको गौतमबुद्ध साझेदारी वनमा व्यवस्थापन समितिको अध्यक्ष रहँदा भ्रष्टाचार गरेको आरोपमा कपिलवस्तु क्षेत्र नम्बर ३ (२) का सांसद यादवसहित १९ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

यादवसँग २९ लाख १२ हजार १९३ रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गरी विशेष अदालतमा मंगलबार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए । आर्थिक वर्ष २०७४।२०७५ र आर्थिक वर्ष २०७५।२०७६ मा ३७ हजार क्युफिट काठ काटेर ठेक्का स्वीकृति गर्ने क्रममा वन कर्मचारीहरूसँग मिलेमतो गरी यादवसमेतले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

उनीसँगै तत्‍कालीन कपिलवस्तु जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रहमदेव महतो, रेन्जर हेमराज पण्डित र सहायक वन अधिकृत शिवशंकर प्रसादविरूद्ध मुद्दा दायर भएको छ।

त्यस्तै प्रदेश वन निर्देशनालय रूपन्देशीका सहायक वन अधिकृत टोलकराज चापागाई, सब-डिभिजन वन कार्यालय गुगौली कपिलवस्तुका सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारू, सहायक वन अधिकृत नागेन्द्रप्रसाद सिंह राजपुत, वन रक्षकहरू सन्जय थारू, संजय केवट, रामगोपाल त्रिपाठी, बासुदेव गोडिया र फरेष्टर रमतु चौधरीविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो।

Author:



क्याटोगरी छान्‍नुहोस