बलात्कार पीडितसँग रकम असुली, जिल्ला न्यायाधिवक्ता र कर्मचारी विरुद्ध उजुरी 

राजविराज – बलात्कृत भएकी पीडितसँग जिल्ला सरकारी वकिल कार्यालय सप्तरीका जिल्ला न्यायाधिवक्तासहितका कर्मचारीले घुस लिएको भन्दै उजुरी दर्ता भएको छ ।

पीडितका दाजु कञ्चनपुर नगरपालिका–५ बस्नेले महान्यायाधिवक्ताको कार्यालयमा जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला र कार्यालय सहयोगी उद्धव भट्टराईविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

उजुरीअनुसार जिल्ला न्यायाधिवक्ता निरौलाले ९५ हजार रुपैयाँ र कार्यालय सहयोगी भट्टराईले ५ हजार रुपैयाँ लिएको जनाइएको छ ।

जिल्ला न्यायाधिवक्ता निरौलाले गत माघ ७ गते निवासमा नगदै लिएको र कार्यालय सहयोगी भट्टराईले सोही दिन राष्ट्रिय वाणिज्य बैंक शाखा राजविराजको खाता नम्वर २१८०१०००६९४६९०१० मार्फत ५ हजार रुपैयाँ लिएको जनाइएको छ ।

उक्त उजुरीमा घुस वापत बैंकमा जम्मा गरिएको भौचर समेत राखिएको छ । घुसखोर भ्रष्टाचारी कर्मचारीलाई यथासिघ्र कारबाहीको माग गर्दै न्यायको लागि पहल गरिदिन सञ्चारकर्मीसँग समेत उजुरीमा आग्रह गरिएकोे छ ।

जवाफ पेश गर्न आदेश 

उजुरी परेसँगै महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौंले ०८० फागुन २ गते जिल्ला न्यायाधिवक्ता निरौला र कार्यालय सहयोगी भट्टराईलाई तीन दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ ।

प्राप्त आर्थिक वर्ष ०८०/०८१ को मिति ०८० फागुन २ गतेको चलानी नम्वर २०८५ को आदेश पत्रअनुसार सो विषयमा के कसो भएको हो ?, सत्य तथ्य स्पष्ट रुपमा खुलाई तीन दिनभित्र जवाफ पेश गर्न भनिएको छ ।

‘उपरोक्त सम्बन्धमा जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका–५ बस्ने पीडितको तर्फबाट निजको दाजुले मिति २०८०/११/०१ मा यस कार्यालयमा दर्ता गर्नुभएको उजुरी निवेदन पाना (२) यसै पत्रसाथ संलग्न रहेको छ’ सहायक न्यायाधिवक्ता श्याम उप्रेतीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘व्यहोरा सो निवेदनबाट अवगत गरी सो सम्बन्धमा के कसो भएको हो, सत्य तथ्य स्पष्ट रुपमा खुलाई तीन दिनभित्र जवाफ पेश गर्नुहुन आदेशानुसार अनुरोध छ ।’

यता, जिल्ला न्यायाधिवक्ता निरौलाले आफुले त्यो मुद्दै नहेरेको प्रतिक्रिया दिएका छन् । ‘मैले सहायक जिल्ला न्यायाधिवक्तालाई त्यो मुद्दाको जिम्मा लगाएका थिए, मैले नहेरेकै मुद्दामा त्यसरी पैसा लिएको आरोप लगाइएको छ, मैले पैसा लिएको छैन्’ उनले भने, ‘मसँग महान्यायाधिवक्ताको कार्यालयले मागेको जवाफ पठाइसकेको छु र अनुसन्धान पनि हुँदै छ ।’ आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस