कोशी–कमला डाइभर्सन छिटोभन्दा छिटो सञ्चालनमा ल्याइयोस् : राष्ट्रपति पौडेल

राजविराज, २७ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्रान्ति गर्न सक्ने तराई मधेशका जिल्लाहरु सुख्खा र खडेरीका समस्याबाट गुज्रिरहेको भन्दै कोशी–कमला डाइभर्सन छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता सखडेश्वरी भगवति मन्दिरमा पूजा पश्चात् आयोजित अभिनन्दन कार्यक्रममा उनले यस्तो आग्रह गरेका छन् । उनले कोशी–कमला डाइभर्सन सञ्चालनमा ल्याई यहाँबाट सुख्खा र खडेरीका समस्या समाधान भएर जाने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले सप्तरी ऐतिहासिक बोकेको पुरानो जिल्ला रहेको बताउँदै १९४७ को भारतीय स्वतन्त्रता आन्दोलनको बेला भारतीय नेताहरू जयप्रकाश नारायण र राम मनोहर लोहियालगायतलाई हनुमाननगर जेल तोडेर मुक्त गराएको इतिहास समेत स्मरण गरे ।

उनले सप्तरीसहित तराई–मधेशका जिल्लाको समग्र विकासका लागि आफु हमेशा साथमा रहेको बताउँदै आफु राष्ट्रपतिको हैसियतमा छिन्नमस्ता भगवतिको दर्शन गर्न पाउँदा हर्षित भएको बताए । उक्त अवसरमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र उपाध्यक्ष राजोदेवी यादवले अभिनन्दन–पत्र र दोसल्लासहित सम्मान समेत दिएका थिए ।

काठमाडौंबाट हेलिकप्टरमा पत्नीसहित आएका राष्ट्रपति पौडेललाई प्रतिनिधिसभा सदस्यद्वय दिनेश कुमार यादव र तेजुलाल चौधरी, प्रदेश सभा सदस्य निलम रजक, छिन्नमस्ता गाउँपालिका अध्यक्ष चौधरी, प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यसहितले स्वागत गरेका थिए ।

त्यसअघि राष्ट्रपति पौडेलले छिन्नमस्ता सखडेश्वरी भगवति मन्दिरमा विधिपूर्वक पूजाआजा समेत गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस