भेटेरिनरी अस्पतालका प्रमुख साहले नै सरकारी जग्गा व्यक्तिलाई दिन खोज्यो

राजविराज–सरकारी सम्पत्तिको संरक्षण र उचित प्रयोग नै भविष्यको आधार हो । तर, संरक्षणको जिम्मेवारी बोकेका कार्यालयका प्रमुखले नै सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजविराजको जग्गा व्यक्तिलाई दिन खोजेको पाइएको छ ।

अस्पतालमा वर्षौदेखि ‘वाउन्ड्री वाल’ लगाएर घेराबेरा गरिएको थियो । केही महिनाअघि मात्रै ‘वाउन्ड्री वाल’ भत्किएपछि पुनः ‘वाउन्ड्री वाल’ निर्माण कार्य भएको छ । तर, अस्पतालको पूर्वतर्फ पुरानो भन्दा ३–४ फिट चौडाइ र करिब ५० फिट लम्बाई जति जग्गा छाडेर ‘वाउन्ड्री वाल’ निर्माण गरेको पाएपछि सो विषय खुल्न आएको छ ।

अस्पतालका प्रमुख शंकर साहले उक्त ‘वाउन्ड्री वाल’ निर्माण गराएका हुन् । श्रोतकाअनुसार पूर्वतर्फ जग्गा छाड्नका लागि प्रमुख साहले नै निर्देशन गरेका थिए । ‘लेनदेनको कुरा नसुनिएको होइन तर त्यसरी सरकारी सम्पत्ति सत्यनास गर्ने मनसाय प्रमुखमै देखिनु सरासर गलत होइन?’ नाम नछाप्ने सर्तमा उनले भने, ‘मेरो कुरामा शंका लागेको छ भने यहाँ आएर हेर्नु र सरकारी जग्गाको संरक्षण गर्नेे दायित्व बोकेका स्थानीय सरकार र सिडिओ साहेबलाई पनि स्थलगत अनुगमन गर्न आग्रह गर्दछु ।’

सो विषयमा प्रमुख साहसँग बुझ्न खोज्दा फोन उठेन ।

अस्पतालका सूचना अधिकारी सुर्यनारायण शर्माले लेनदेनको विषय आफुलाई जानकारी नरहेको बताए । ‘तर, त्यहाँ नदी रहेका कारणले थोरै जग्गा छाडेर वाल निर्माण गरिएको छ’ उनले भने, ‘अन्य लेनदेनबारे मलाई जानकारी छैन् ।’

Author:



क्याटोगरी छान्‍नुहोस