‘बन्धक’ बनाइएको शव ल्याउन विराटनगर पुगे जनप्रतिनिधि र स्थानीय 

राजविराज—उपचारका क्रममा मृत्यु भएकी सप्तरीकी एक दलित महिलाको शव बिल तिर्न नसकेर बन्धक भएको पाइएपछि जनप्रतिनिधिसहितका स्थानीयहरु सोमवार साँझ विराटनगरस्थित विराट नर्सिङ होम पुगेका छन् ।

सप्तरीको बलानबिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, उपाध्यक्ष रेणु यादव, वडाध्यक्षहरु र स्थानीयसहितका १५५ जना अन्तिम संस्कारका लागि शव ल्याउने पहलमा लागेका हुन् । ‘दाह संस्कारको लागि शव देऊ, शवलाई बन्धकीमा राख्न पाइदैन, अस्पताल प्रशासन मानवता देखाउ, दलितमाथि अन्याय नगर’ उल्लेखित ब्यानर बोकेर उनीहरु नर्सिङ पुगेका छन् ।

जेठ ३ गते मृत्यु भएकी जिल्लाको बलानबिहुल गाउँपालिका–२ का उमेश रामकी पत्नी ४२ वर्षीया श्यामाकुमारी रामको शव उपचार खर्च तिर्न नसक्दा अस्पतालमै राखिएको छ । गत चैत ५ गते बोदेवरसाइन बजारबाट सिटि रिक्सामा घर फर्किदै गरेकी श्यामाकुमारीलाई स १ त ३२८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् ।

विराट नर्सिङ होममा भर्ना गरिएकी उनको उपचारका क्रममा गत जेठ ३ गते मृत्यु भएको थियो । अस्पतालले उपचारमा लागेको खर्च तिरेपछि मात्र शव दिने बताएपछि विपन्न परिवारका मृतकका पति उमेश राम समस्यामा परेका छन् ।

श्यामाका आफन्त रामएकवाल रामका अनुसार अस्पतालले १२ लाख ५९ हजार २ सय रुपैयाँ खर्च देखाएको छ । जसमध्ये ३ लाख ७४ हजार रुपैयाँ श्यामाको परिवारले अस्पताललाई बुझाइसकेको छ । यस्तै, औषधि वापत ८ लाख खर्च भएकोमा परिवारले छुट्टै ५ लाख २५ हजार बुझाइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस