एमाले–कांग्रेससहितको राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ : कांग्रेस

काठमाडौं, १८ असार–नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि कांग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ ।

मंगलबार कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका छन् । उनले संविधानसहितका मुद्दाहरुलाई केन्द्रित गरेर सरकार निर्माणमा सहभागी भएको बताए ।

उनले आम नागरिकका समस्यालाई केन्द्रमा राखेर नेकपा एमालेसँग सरकार बनाउने सहमति भएको बताए । प्रवक्ता महतलले अस्थिरताका कारण आर्थिक स्थिति सुध्रिन अफ्ठ्यारो भएको, सुशासन सुनिश्चित गर्न अफ्ठ्यारो भएकाले पनि दुई ठूला दलहरुको सरकार आवश्यक रहेको बताए ।

उनले दुई दलको बीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरु दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको बताए । सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने आधारमा मोटामोटी समझदारी भएको बताए ।

समझदारीलाई अन्तिम रुप दिन पार्टीको केन्द्रिय कार्यसम्पादन समितिले निर्णय गर्ने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस