बैंकको दबाबले उद्योगी–व्यवसायीलाई मर्नु न बाँच्नु बनाइसकेको छ : अध्यक्ष अग्रवाल

राजविराज, १८ असार–सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले उद्योगी–व्यवसायीहरुको समस्या जटिल परिस्थितिमा पुगिसकेको बताएका छन् ।

‘मधेशलाइभ’सँग कुरा गर्दै उनले दुई/तीन वटा कारणले उद्योगी–व्यवसायीहरुको समस्या जटिल परिस्थितिमा पुगेको स्पष्ट गरे । ‘पहिला–पहिला त बैंकले उद्योगी–व्यवसायीहरुलाई कारोबारको ५० प्रतिशत लोन दिएको थियो र दोहोरो ब्यालेन्ससिट चल्थ्यो अनि बैंकले उद्योग व्यवसाय गर्न उस्काएर पनि लोन दिन्थ्यो र दिएको छ पनि’ उनले भने, ‘उद्योगी–व्यवसायीले पनि लोन लिएर केही पैसा व्यवसायभन्दा बाहिर जग्गासहितकामा पनि लगानी गरे, व्यवसायमा समस्या आए जग्गाबाट कमाएर भएपनि ब्याज तिर्ने मनसायी नै थियो तर अहिलेको परिस्थितिले उद्योगी–व्यवसायीहरुको पैसा फसेकोले ब्याज तिर्ने अवस्था छैन् ।’

यद्यपी, बैंकले जटिलता नबुझेको भन्दै अध्यक्ष अग्रवालले अहिले बैंकको दबाबले उद्योगी–व्यवसायीलाई मर्नु न बाँच्नु बनाएको बताए ।

‘उद्योगी व्यवसायीहरुले बैंकबाट लिएको ऋण आफ्नो लकरमा राखेर बैंकको ब्याज नतिरेको होइन, व्यवसायीहरुको पैसा बजारमा उधारो छ, त्यो कुरा बैंकले बुझ्न चाहिरहेको छैन्, काफी प्रेसर गरिरहेको अवस्था छ’ उनले भने, ‘विगत हेर्दा समयमा ब्याज तिर्ने अवस्था, उद्योगी व्यवसायीको पिजी, मन्जुरनामा, धिँतो, कोलेटल, इमेज सबै कुरा बैंकमै छ तर व्यवसायीले मौखिकको भरमा बजार जुन उधारो दिएको छ, त्यो उधारो डेन्जर जोनमा छ, धेरै व्यवसायी पीडित भइसकेका छन् । र, ती पैसा विस्तारै आइरहेको अवस्था छ । त्यो पैसा विस्तारै तिर्ने वातावरण बनाइयोस् ।’

उनले अर्कोतिर व्यवसायीलाई लोन थप्नु त परै जाओस् झन कारोबारको २५ प्रतिशत मात्र लोन दिने राष्ट्र बैंकले निती ल्याउँदा समस्या बढेको बताए ।

‘अहिले चौतर्फी मिडियामा पनि आइरहेको छ की बैंकमा तरलताको कुनै समस्या छैन, बैंकमा पैसा फालाफाल छ, दैनिक निक्षेप बढिरहेको अवस्था छ । दैनिक राष्ट्र बैंकले बैंकहरुसँग पैसा तानिरहेको अवस्था छ । बैंकमा पैसाको चाङ लागेको छ तर व्यवसायीलाई पैसा नदिएपछि त्यो चाङ के कामको ?’ उनले भने, ‘बैंकमा भएको पैसाको काम के त? अहिले जुन तरलतालाई लिएर व्यवसायीले समस्या भोगिरहेको अवस्था देखिएको छ, जबसम्म २०७९ को मार्गदर्शन राष्ट्र बैंकले खारेज गर्दैन र उद्योगी–व्यवसायीहरुको घटिरहेको मनोबललाई उच्च पार्ने काम हुँदैन तबसम्म निकास हुनेबाला छैन् ।’

उनले वर्तमान परिस्थितिका कारण दुई/तीन वर्षभित्र कति उद्योगी व्यवसायीले सुसाइड गरिसकेको, कतिको व्यवसाय असफल भइसकेको, कति पलायन भइसक्दा पनि राज्यले गम्भीरता नदेखाएको गुनासो गरे ।

‘राजविराजमै पनि डेढ वर्षभित्र दुई/तीन सय सटर बन्द भइसक्यो, जसमा सबभन्दा बढी ट्रेडिङ व्यवसायी गर्नेहरु, २०, २५, ४० लाख लगाएर उद्यामी गर्नेहरु धेरै छन्, उनीहरुको दुई वर्ष व्यापार चलेन भने कर्मचारी खर्च, सटरको भाडा, बैंकको ब्याज तिर्दै सबै मालसमान गरी आफ्नो भएभरको पूँजी बैंकको ब्याज, कर्मचारी खर्च, सटरको भाडामा सकिएको अवस्था छ’ उनले भने, ‘धेरै व्यवसायीलाई हामीले पान नम्वर बन्दको लागि सिफारिस पनि दिनु परेको छ र अहिले पनि त्यो क्रम रोकिएको छैन् ।’

उनले यसतर्फ राज्यलाई गम्भीरता देखाउन आग्रह समेत गरेका छन् । ‘उद्योगी–व्यवसायीलाई मनोबल बढाइयोस्, उद्योगी–व्यवसायीको मनोबल उच्च कसरी बनाउन सकिन्छ, त्यसमा राज्यको ध्यान पुगोस् र उद्योग–व्यवसाय गर्ने वातावरण बनोस् ।’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस