जनकपुरधाम, २६ वैशाख । धनुषा र सिरहालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदीमा मंगलबार आएको बाढीले बगाएको अस्थायी बाँसको पुल पुनः सञ्चालनमा आएकाे छ ।
तत्काल बाँसकाे चचरी पुल निर्माण गरी बुधबारदेखि सञ्चालनमा ल्याइएको हाे । बाँस र प्लाई प्रयोग गरेर नयाँ अस्थायी पुल निर्माण गरिएको छ। वर्षाले नदीमा पानीको बहाव तीव्र बनेपछि मंगलबार साँझ पुल बगाएको थियो। जिल्लाबीचको आवागमन अवरुद्ध हुँदा सर्वसाधारणलाई समस्या भएकाे थियाे ।
पुल बगाएको बुधबार बिहानैदेखि काम सुरु गरिएको थियो। केही घण्टाको प्रयासपछि बाँसकाे भाटा र चचरीबाट तत्कालका लागि पुल तयार पारिएको हो। स्थानीय बासिन्दाले अस्थायी पुल पुनः सञ्चालनमा आएकोमा राहतको अनुभूति गरेका छन्। तर उनीहरूले वर्षेनी यस्तो समस्या दोहोरिने भएकाले स्थायी पुलको काम छिटो टुंग्याउन सरकारसँग माग गरेका छन्।
कमला नदीमाथिको स्थायी पुल निर्माण कार्य राेकिएकाे छ। हाल बाँसकाे चचरी पुलबाट जाेखिम माेलेर पैदल तथा माेटरसाइकल वारपार हुन थालेका स्थानीयले जानकारी दिएका छन्। तस्विर: सिरहा टुडे