जनकपुरधाम, २५ वैशाख ।जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीति अहिले तीन धार अग्रगामी, यथास्थितिवादी र पश्चगामीमा विभाजित हुँदै गएको बताएका छन्।
धनुषामा सम्पन्न जसपा नेपालको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान, लोकतन्त्र र संघीयता जोगाउने अभियानमा अग्रगामी शक्तिहरू सक्रिय रहेको बताए। उनका अनुसार, यी शक्तिहरूले जनआन्दोलन, सशस्त्र विद्रोह र मधेश आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै समावेशीता, मौलिक अधिकार र नागरिक स्वतन्त्रताको प्रवर्द्धनमा दृढ भूमिका खेलेका छन्।
तर, उनले यथास्थितिवादी शक्तिहरू अझै पनि संघीयता र समावेशी प्रणाली स्वीकार्न नसकेको आरोप लगाए। “लोकतान्त्रिक मूल्य मान्यताप्रति उनीहरूको औपचारिक स्वीकारोक्ति भए पनि व्यवहारमा उनीहरू पुरानै संरचना जोगाउन चाहन्छन्,” यादवले भने।
यादवले पछिल्लो समय पश्चगामी धारहरू पनि पुनः सक्रिय बन्दै गएको उल्लेख गरे। उनले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता र समावेशीताको पक्षमा जसपा चट्टानी अडानमा उभिने प्रतिबद्धता व्यक्त गरे।
राजनीतिक खिचातानीबीच देश संघीय प्रणालीमा गएको भए पनि समानता, सहभागिता र समानुपातिक प्रतिनिधित्वको सवालमा अझै सुधार आवश्यक रहेको यादवको भनाइ थियो। उनले अग्रगामी शक्तिहरू कमजोर हुँदा यथास्थितिवादी र पश्चगामी धारहरूले प्राप्त उपलब्धिमा आँच पुर्याउने दुस्साहस गर्न थालेको भन्दै यस्तो प्रयासलाई जसपाले असफल बनाउने दृढता व्यक्त गरे।
जिल्ला अधिवेशनको उद्घाटन सत्र धनुषाका अध्यक्ष पशुपति यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जसपाका केन्द्रीय उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य दीपक कार्की, प्रदेश अध्यक्ष बालकिशोर यादवलगायतका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै भोलि सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।