जनकपुरधाम, वैशाख २५ – धनुषा प्रहरीले सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक गिरोहका सात सदस्य र होलीको दिन भएको हत्यामा संलग्न एक फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ परेका आठै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार अनलाइन ठगीमा संलग्न गिरोहले फेसबुक लगायत सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाएर मोबाइल, मोटरसाइकल जस्ता सामग्री सस्तोमा दिने प्रलोभन देखाइ मानिसहरूलाई ठगी गर्ने गरेको खुल्न आएको छ। ठगीमार्फत उनीहरूले २ करोड ६३ लाख ९ हजार ३१२ रुपैयाँ असुल गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।
पक्राउ परेका व्यक्तिहरूमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेश कुमार साह, गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ वर्षीय सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्याम सुन्दर महरा र २० वर्षीय राम कुमार महरा छन्।
उनीहरूको साथबाट प्रहरीले १० थान मोबाइल फोन बरामद गरेको छ, जसको प्रयोग गरी १८७ वटा बैंक तथा वालेट खाता खोलिएको देखिएको छ। साथै, २१ वटा फेक एकाउन्ट र पेज प्रयोग गरिएको समेत पत्ता लागेको छ। ठगहरू अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गरेका थिए।
प्रहरीले अदालतबाट म्याद थप गराउँदै थप अनुसन्धान अगाडि बढाएका छन्।