‘दोस्रो पटकको शिलान्यास जनतामा भ्रम छर्ने स्टन्ट’
राजविराज, २४ बैशाख । करिब चारवर्ष अघि नै नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको योजनालाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले दोस्रो पटक शिलान्यास गरेका छन् ।
सप्तरीको राजविराज १० स्थित बिरौलमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास बुधबार दोस्रो पटक गरेका हुन् । २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । प्रतिष्ठानको भौतिक संरचना निर्माण कार्य अगाडि बढ्न नसकिरहेको बेला सप्तरी २ का प्रतिनिधिसभा सदस्य डा. राउतले काम अगाडि बढाउनुको साटो स्टन्टका लागि दोश्रो पटक शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री ओलीद्वारा शिलान्यास गरिएको योजनालाई पुनः डा. राउततले सिलान्यास गर्न लागेको भनी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना शुरु भएको थियो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका सप्तरी २ का तत्कालीन प्रतिनिधि सभा सदस्य उपेन्द्र यादव ओली नेतृत्वको सरकारमा उपप्रधान स्वास्थ्य एवम् जनसङ्ख्यामन्त्री हुँदा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालय स्थापना गराएका थिए । राजविराजमा प्रतिष्ठानको कार्यालय उद्घाटन, निर्देशक नियुक्ति तथा स्वास्थ्य मन्त्रालयबाट गाडी समेत दिएर पठाएका थिए । प्रतिष्ठानको डिपीआर तथा घेराबेरा समेत गरिएको थियो । यतिमात्र होइन, प्रतिष्ठानका भौतिक संरचनाका लागि बजेट समेत व्यवस्थापन गरिएको थियो ।
प्रतिष्ठानको परिकल्पनालाई मूर्त रुप दिन ५० बेडको अनुमति पाएको गजेन्द्रनारायण सिंह अस्पताललाई देशकै अत्याधुनिक सुविधासम्पन्न अस्पताल बनाउन ४२० बेडको भौतिक संरचना निर्माण गरिएको छ । यतिमात्र होइन, प्रतिनिधिसभा सदस्य रहँदा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत चार करोडको लागतमा अत्याधुनिक नर्सिंङ कलेज भवन निर्माण सम्पन्न गराइएको थियो । हालको जनप्रतिनिधिको नाताले राजविराजमै नर्सिङ्ग कलेज सञ्चालन गराउनुपर्नेमा अत्याधुनिक संरचना त्यसै लथालिंग बन्न पुगेको छ ।
अस्पतलामा नयाँ दरबन्दी स्वीकृत गराई सर्वसाधारणलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा अत्याधुनिक भौतिक पूर्वाधार हुँदाहुँदै सर्वसाधारण धरान, बिराटनगर लगायतका सहरहरु धाउन बाध्य छन् । यस्तै राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसमा इन्जिनियरिङ्ग कलेज भवन निर्माण सम्पन्न भई हस्तान्तरण गरिसकिएको छ । पठनपाठनको अनुमति तथा कक्षा सञ्चालन गर्न पहल गर्नुको साटो बेवास्ता गर्दैआएका छन् । यस्ता थुप्रै योजनाहरु वर्तमान प्रतिनिधिसभा सदस्यको नाताले स्वामित्व ग्रहण गर्दै अगाडि बढाउनुपर्नेमा त्यसै अलपत्र छन् ।
तात्कालिन समयमा प्रधानमन्त्री ओलीको सरकारमा गठन आदेशबाट प्रतिष्ठानको गठन भए पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा म्याद नथपिएपछि त्यसको औचित्य समाप्त भइसकेको भनी जनमत पार्टीका अध्यक्ष डा. राउतले प्रतिक्रिया दिएका छन् । म्याद थप नभएपछि निर्माण कार्य स्थगित भएको अवस्थामा आफुले पहल गरेर पुनः नयाँ तवरबाट काम अगाडि बढाउन शिलान्यास गरिएको उनले बताएका छन् । डा. राउतले त्यस्तो प्रतिक्रिया दिए पनि त्यहीँ जग्गा, त्यही, डिपीआर नक्सा पनि पहिलाकै रहेको छ ।
प्रधानमन्त्री ओलीद्वारा चार वर्ष अघि शिलान्यास गरिएको अवस्थामा एउटै योजनालाई दोहर्याएर शिलान्यास गरिएको कार्यलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘फन्टुस’ र स्टन्टबाजको संज्ञा दिएका छन् । जो कोहीले पनि जनतामा भ्रम छर्नुको साटो परिणाममुखि काम गर्नुपर्ने उनको प्रतिक्रिया छ ।