जनकपुरधाम, २४ वैशाख । भनिन्छ जहां शिव, त्यहाँ शव र जहां शव त्यही शिव, तर शवलाई दहन–दाह–संस्कार गरी शिवलोकसम्मको यात्राको बाटोमा सहायकसिद्ध गराउने लौकिक व्यक्ति हुन् श्री चन्देश्वर÷चनेशर मण्डल । उनी सप्तरी जिल्लाको हाल बलानबिहुल गाउँपालिका वार्ड नं ४ बेल्ही गाउँका वासिन्दा हुन् ।
उनी गाउँकै विद्यालयमा कक्षा दुईमा पढ्दादेखि नै शवदहन कार्यमा जुटेका थिए । हालसम्म उनले एकहजार भन्दा बढी शवलाई दाह–संस्कार गरिसकेका छन् । उनको भनाइ अनुसार, सिमावारी र पारीमा मृत्यु भएमा पहिले उनलाई नै खबर आउने गर्छन् । र, उनी आफ्नो काम वा ज्यालाको काम छाडेर शव दहन कार्यमा जाने गर्छन् । एभरेजमा ३ वटा लाश महिनामा जलाउने गर्छन् । त्यसमा पनि रुखका हाँंगा काटेर दाउराको व्यवस्थापन गर्ने र बडो प्राविधिक तवरले लास दहन गर्न कलामा निपुण छन् उनी ।
तराईका जिल्लाहरुमा शव दहन या नदी–खोलाको किनारमा या त आफ्नै जग्गामा गर्ने गरेको पारम्पारिक प्रचलन रहेको छ । जनकपुरधाममा शव दहन संस्कार स्वर्गद्वारीमा हुने गरेको छ । मण्डलको भनाइ अनुसार संस्कार सम्बन्धी सामाजिक कार्य पुर्ण रुपमा निःशुल्क गर्ने गरेका छन् । हुनतः अहिलेको भौतिकवादी युगमा यो संस्कार कार्यमा पनि ‘नगदनारायण’ अर्थात ज्याला लिने कार्यको प्रवेश गरिसकेको भएता पनि उनी यसबाट आफुलाई टाढा नै राखेका छन् ।
हालै आफ्नी काकी इन्दिरा दत्तको मृत्युु संस्कारको बेलामा उनीसँग आफ्नो अन्तरंग र बहिरंग कुराकानी भएको भनी मधेशी आयोगका निवर्तमान अध्यक्ष डा. विजय दत्तले सामाजिक सञ्जालमा लेखेका छन् । उनले अगाडि लेखेका छन् ‘हार्दिक नमन–धन्यवाद छ यी र, यस्ता सामाजिक र सांस्कारिक अगुवा योद्धालाई जसले साठी वसन्त पार गर्दा पनि सक्रिय जीवनमा अझ सक्रिय छन् ।तस्विर समेत डा. विजय दत्त/जनकपुरधाम