राष्ट्रिय खेलकुदको पूर्वाधार निर्माणमा प्राथमिकता

जनकपुरधाम, २६ वैशाख । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा आयोजना हुने ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरकार पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रका पूर्वाधारका लागि विशेष बजेट विनियोजन गर्न लागेको बताएका हुन् । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा तथा जिल्ला क्रिकेट संघ धनुषाको समन्वयमा शुक्रबारदेखि सञ्चालित तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

बहुप्रतिक्षित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको निर्माण प्रक्रिया अघि बढेको जानकारी दिँदै मन्त्री चौधरीले गुठी संस्थानसँगको सहकार्यमा जग्गा व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिएका छन् । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले प्रदेश सरकार आठवटै जिल्लामा रंगशाला निर्माण गर्ने योजनामा रहेको बताए । अधुरा संरचनाको काम समेत प्राथमिकतामा रहेको उनले जानकारी दिए । पूर्वमन्त्री सुरिता साहले मधेश प्रदेशमा खेलकुदकाे प्रवल सम्भावना रहेकाेले ध्यान दिनुपर्नेमा जाेड दिए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले रामजानकी रंगशालाको निर्माण कार्य सकारात्मक दिशामा अगाडि बढेको चर्चा गरे । कार्यक्रममा नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्काले क्रिकेट क्षेत्रको समग्र विकासका लागि गम्भीर बन्नुपर्नेमा जोड दिए ।

आगामी जेठ २ गतेसम्म सञ्चालन हुने मेयर कप प्रतियोगितामा मधेश प्रदेशका आठ जिल्लाका टिमसँगै भारतको बिहार र उत्तर प्रदेशका टोलीसमेत सहभागी रहेका छन् । कुल १२ टिमबीच प्रतिस्पर्धा हुने प्रतियोगितामा विजेतालाई रु २ लाख नगद र ट्रफी, उपविजेतालाई रु १ लाख २५ हजारसहित सम्मान गरिनेछ । म्यान अफ द म्याच, सिरिज, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई समेत नगद र ट्रफी प्रदान गरिने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस