श्यामसुन्दर यादव ‘पथिक’
कर्मथलो जनकपुरधामबाट गृहजिल्ला सप्तरी आउजाउ भइरहन्थ्यो । तर बसको अत्यासलाग्दो यात्राले म आजित भइसकेको थिएँ । घरबाट विहान मैडमको फोन आयो । जसरी भए पनि आउनै पर्ने रे । चिया पसलमा बसेको के थिएँ, गोरखापत्रकर्मी दाइ धीरेन्द्र साह पनि टुपलुक्क आइपुग्नुभयो । कुरैकुरामा वहाँले मोटरसाइकलबाट हुलाकी सडक भएर घर जान लागेको भनी चर्चा गर्नुभयो ।
आबडखुबड हुलाकी सडकको बाटो कालोपत्रे भएकोले मलाई हेर्ने रहर पनि थियो । ‘दाइ, एक्लै हुनुहुन्छ ? मैले चियाको चुस्कीसँगै सोधे । ‘अँ, जाउँ न त’ भन्नुभयो ।
वैशाख महिनाको टन्टलापुर घाम । दिउँसोको २ बज्दैथियो । चर्को घाममा यात्रा गर्ने मन नभए पनि निस्केँ । कदमचोकबाट पूर्वतर्फ अर्थात राजविराजसम्मको ८० किलोमिटर यात्रा गर्नुथियो । गफगाफसँगै शुरु भयो हाम्रो हुलाकी सडकको यात्रा । चर्को घामसँगै कालोपत्रेबाट निस्किदै गरेको तातो वायुले भतभति पोलिरहेको थियो ।
कुराकानीमै हामी कमला नदीको छेउमा पुगिसकेका थियौं । लामो पुल पश्चिमतर्फ समेत भत्किएको तथा ठाउँठाउँमा मर्किएको थियो भने पूर्वतर्फको पाया निर्माण शुरु भएर रोकिएको देखेँ । शिरामा वर्षा भएकोले नदीमा सामान्य बाढी आएको थियो । बिजोग देखेर अब कसरी खोला तर्ने होला ? भनी मनमनै चिन्ता लागिरहेको थियो ।
बालुवामा मोटरसाइकल पनि गुडाउन हम्महम्मे परिरहेको थियो चालक महोदयलाई । झन सय सीसीको गाडी । म नओर्लिकन पछाडि बसिरहेको थिएँ । फस्ट गेयरमा एक्सिलेटर बटार्दै अगाडि बढ्ने क्रम जारी थियो । मोटरसाइकलमा बोली भएको भए ‘माइबाप, भो अब सक्दिन’ भन्थे शायद । कि त दम तोडिदिन्थे । सुख्खायाममा तत्कालका लागि आवत–जावत गर्न बाँसको चचरी पुल नजिक पुग्यौं । तर केही समयकालागि आवागमन रोकिएको थियो । एक घण्टा अघि मात्र बाढीले चचरीमाथि राखिएका प्लाइका फ्ल्याकहरु बगाएको रहेछ । त्यही मिलाउनमा व्यस्त थिए प्रति मोटरसाइकल २० रुपैयाँ बट्टी असुल्नेहरु ।
चार पाङ्ग्रेहरु भने खोलाकै पानी भएरै जोखिमपूर्ण यात्रा गर्दैआएका थिए । पुलदेखि अलि पर एक स्र्कोपियो पानीमै फँसेको देखेँ । केही व्यक्ति ट्रयाक्टरको सहायताले स्कार्पियो पानीबाट निकाल्ने प्रयासमा थिए । यात्रुहरु रोइरहेको आवाज प्रष्ट सुनिन्थ्यो । छोरीको बिहेका लागि दुलहाको छेकाको सगुन सामग्री स्कोर्पियोमै थियो । लड्डु, खाजा, बादसाही, मखान, दही लगायतका सामानहरुमा पानीमा पसेर कामै नलाग्ने भइसकेको थियो । ‘छेकाको कोसेली सबै बर्वाद भयो, कपडाहरु पनि भिजिसकेको छ, कस्तो अप शकुन, अब के लिएर जाने ? मतिर फर्केर रुँदै पीडा पोख्दै थिए ती यात्रु ।
दृष्य र पीडा सुनेर मन अमिलो भयो । ‘भाँडमे जाउ जनता, सरकार चबलैबालासब पीसी कमिसन असुलैमे मस्त छै, के देखतै जनताक दुःख ?’ धोती, कुर्ता र टाउकामा पगडी बाँधेका अधवैसे पुरुषले पसिना पुछ्दै थपे ‘एक्के माघे जाड नइँ न जाइछै हौ, ८४ मे फेर भोंट हेतै न, अइबेर आबौ सरबा सब, अल्हुवा लेतै ।’
उनको रिसको सामु सान्त्वना र हो मा हो मिलाउनु बाहेक मसँग केही थिएन । चल हौ, रस्ता खुइल गेलै’ उताबाट धीरेन्द्र दाइले बोलाउनुभयो । हल्लिदै गरेको चचरी पुलबाट वहाँसँगै नदी तरेँ । पुल निर्माण काम किन रोकिएको विषयमा सोध्दा त एक महिना अघि नै ठेकेदार काम छाडेर भागेको रहेको छ । ठेकेदारले अँटेरी गर्दा तीनै तहका सरकारहरुले पनि चासो नदेखाएको भनी थाहा पाएँ । सिरहा नगरपालिका हुँदै गाडीको रफ्तार पुनः तेज हुँदै थियो ।
हुलाकी सडकमा कालोपत्रे भएर कायापलट भएको देख्दा मनैदेखि खुशी थिएँ । सरकारको नजरबाट विभेदित यो सडकमा मोटर पनि सरर चलेको देखेर चमत्कारै भएको जस्तो अनुभूति भयो । तर कमला नदीमा पुलमात्रै बनेको भए जनकपुरबाट राजविराजको यात्रा त मात्र डेढ दुई घण्टाको हुन्थ्यो । मनमा नानाथरीका कुराहरु मेरो दिमागमा चलिरहेको थियो । त्यै भएर म धीरेन्द्र दाइको कुरामा हो मा हो मात्र मिलाउँथे ।
नभन्दै करिब सवा दुई घण्टामा खुरहुरिया चोक आइपुगें । जहाँ मेरो बचपनका असङ्ख्य स्मृतिहरु छन् । राजविराज जाँदै गर्दै भरियालाई कैयौं चिप्लिएर लडेको देखेको थिएँ । एकपटक त पत्थरगाडाबाट जितन पंडित चौरचनका लागि बनाइएका माटाका भाडावर्तनहरुको भार बिक्रीका लागि राजविराज लगिरहेका थिए । पानी परेकोले चिप्लेटोबाट चिप्लिएर लड्दा माटाका भाडाहरु टुक्राटुक्रा हुन पुगेको थियो । मेहनत गरेर बनाएका माटाका भाडाहरु फुटेसँगै उनका सपनाहरु चकनाचुर हुन पुगेको थियो ।
हुन त म स्वयम् भुक्तभोगी थिएँ, कैयो पटक पैदलै, साइकलमा त मोटरसाइकलमा राजविराज आवत–जावत गर्ने क्रममा चिप्लिएर लडेको थिएँ । एकपटक चिप्लिएर खुट्टा मर्किएको सम्झें ।
धेरै वर्ष अगाडिसम्म यहीं सडक भएर घुँघुरु बाँधिएको लट्ठीमा हुलाकीहरु चिट्ठीका झोलाहरु पुर्याउने गर्नुहुन्थ्यो । एकाविहानै घुँघरुको आवाज सुनेर हुलाकी गइरहेको भनी सडक छेउका वासिन्दाहरुले थाहा पाउँथे । त्यतिबेला सहज सडक र यातायातका साधनहरु थिएन । एकमात्र मार्ग थियो देशकै इतिहास अर्थात हुलाकी सडक ।
हुलाकी सडकमा पाँच वर्ष अघिमात्र माटो, बालुवा र खाल्टाखुल्टीमात्र देखिन्थ्यो । तर अहिले त मेरो मावली गाउँ खुरहुरियाबाट दर्जन बढी ई रिक्सा म्याजिक इत्यादि चल्न थालेका छन् । यहाँसम्मकी काठमाण्डौ चल्ने रात्रीबसहरु हुलाकी सडक भएर जान थालेका छन् । गाउँमै बस चढ्न तथा काठमाण्डौमा आफन्तकहाँ सामानहरु पठाउन सहज भएको छ । धेरैले रोजगारी पनि पाएका छन् ।
चोकमा धीरेन्द्र दाइसँगै हरिको पसलमा मीठो चिया खायौं । लगभग चार किलोमीटर पूर्व राजविराजतर्फ उहाँ प्रस्थान गर्नुभयो । म त्यही बालसखाहरुसँग भलाकुसारी गर्न थालें । अहा ! कस्तो राम्रो । अत्यन्तै सहज । दुई दशक अगाडि यो ठाउँमा चिया पसलमात्र थियो । अहिले चोकको रुपमा विस्तार भएको छ । थरिथरीका पसलहरु खुलेका छन् । लगभग सबै आवश्यकताहरु त्यहीबाट पूर्ति हुन थालेका छन् । यहाँसम्मकी साँझ विहान चौकमै तरकारी हाट लाग्न थालेको छ ।
गाउँहरुमा उब्जाएका ताजा तरकारी, माछामासु समेत चोकमै खरिदविक्री भइरहेको देख्दा म गदगद भएँ । किनभने खुरहुरिया र त्यसक्षेत्रमा मेरो आत्मियताको साइनो गाँसिएको छ । हुलाकी सडकले ल्याएको परिवर्तनले त्यहाँका अग्रजदेखि युवा पुस्तामा मैले अद्भूत चमक देखें । लोकतान्त्रिक आन्दोलनका सहीद दशन यादव र उहाँकै छोरा जनयुद्धकालका सहीद विनोद कुमार यादवलाई मैले सम्झें । नातामा दशन मेरा मामा र उहाँकै छोरा विनोद जो बालसखा मात्र होइन स्कूलमा सँगै पढ्थ्यौं । हामीसँगै पढ्नुहुन्थ्यो जामुन यादव अर्थात बाबा रामबालक दास, हालका युवा नेता जयनारायण यादव आदि इत्यादि । उहाँहरुको स्मरण गर्दा गर्वले मेरो छाती चौडा भएको अनुभूति भयो । मेरो मात्र होइन, देशले गर्व गर्ने ठाउँ खुरहुरियाले काचुली फेर्दै गरेको जान्न पाउँदा म हर्षले विभोर भइरहेको थिएँ ।
हुलाकी सडकमा पर्ने पुल निर्माण र कालोपत्रे भइदिए यात्रा त छोटिने नै थियो । तराई मधेशको भाग्योदय समेत हुनेथियो । त्यसैले यो सडक निर्माणमा भइरहेको ढिलासुस्ती र बेवास्ताप्रति मलाई मनमनै रिस पनि उठिरहेको थियो ।
यावत गन्थन–मन्थन गरिरहँदा मैडम स्कूटीमा मलाई लिन आउनुभयो । साथीहरुबाट तत्काल छुट्टिदै स्कूटी चढेर आफ्नो गाउँ भथौल प्रस्थान गरेँ । चोकबाट मेरो गाउँ पुग्न लगभग साढे दुई किलोमीटरको दूरी मात्र रहेकोले केही मिनेटमै यात्रा पुरा भयो । तर त्यो माटो र मेरा अतितका सम्झनाहरु मस्तिष्कमा झन ताजा भइरह्यो । त्यहाँका माया, स्नेह र मेरा सङ्घर्ष सिनेमाको दृष्य जस्तै एकपछि अर्को गर्दै आइरह्यो । उफ् त्यतिबेलाको हुलाकी सडक र अहिलेको बदलिदो स्वरुप अनि मेरा अतित ।