राजविराज नगरपालिका विवाद : भयमुक्त वातावरण सुनिश्चित नभएसम्म सेवा बन्द गर्ने चेतावनी

राजविराज, ३० जेठ । राजविराज नगरपालिका कार्यालयमा कर्मचारीहरूमाथि भएको कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्कीको घटनापछि दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गरिएको छ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाइ समिति राजविराजका अध्यक्ष कल्पना देवले शुक्रबार पत्रकार सम्मेलन गर्दै नगरपालिकामा कार्यरत कर्मचारीहरू असुरक्षित महसुस गरिरहेको बताइन्। उनले दोषीलाई कारबाही नगरिएसम्म र कार्यस्थलको सुरक्षाको प्रत्याभूति नभएसम्म कुनै पनि कर्मचारी काममा फर्किन नहुने स्पष्ट गरिन्।

उनका अनुसार जेठ २७ गते मंगलबार प्रमुख प्रशासकीय अधिकृतको हाजिरी गराउने विषयमा विवाद भइरहँदा निलम्बित नगर प्रमुख भीमराज यादव, योजना शाखा प्रमुख मनोज यादव, आन्दोलनकारी सुधिर यादवसहितको समूहले नगर कार्यालय अगाडि शान्तिपूर्वक उभिएका कर्मचारीहरूलाई पूर्वनियोजित रूपमा गालीगलौज र कुटपिट गरेका थिए।

अध्यक्ष देवका अनुसार उक्त समूहले लेखा अधिकृत शत्रुधनलाल दास, शहरी स्वास्थ्य क्लिनिकका अहेब सन्तोष कुमार दास र आफूमाथि संघातिक हमला गर्दै सडकमा घिसार्ने, ज्यान मार्ने धम्की दिने र मरणासन्न बनाइ कुटपिट गरेको बताए। लेखा अधिकृत दासले आफूमाथि सुनको सिक्रीसमेत लुटपाट भएको दाबी गरे।

कर्मचारीहरूले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्न, पीडितलाई क्षतिपूर्ति दिलाउन र कार्यस्थलको सुरक्षाको ग्यारेन्टी गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले सुरक्षित र भयमुक्त वातावरण सुनिश्चित नभएसम्म नगरपालिका तथा मातहतका कार्यालयहरूबाट अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने चेतावनी पनि दिएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस