राजविराज, २८ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरमा केही व्यक्तिले घरमै पसेर मालाकार बुवाछोरालाई कुटपिट गरेको छ । कुटपिटबाट गम्भीर घाइते भएका ५६ वर्षीय रामसेवक मालाकार र उनका छोरा २४ वर्षीय जयप्रकाश मालाकारलाई थप उपचारको लागि विराटनगर पठाइएको छ ।
स्थानीय ४८ वर्षीय वैजनाथ मण्डल, उनका छोराहरु २८ वर्षीय दिपेन्द्र मण्डल र २४ वर्षीय भुपेन्द्र मण्डलले मंगलबार घरमै पसेर उनीहरुलाई कुटपिट गर्दै घरेलु हतियार समेत प्रहार गरेका छन् । कुटपिटबाट गम्भीर घाइते भएका मालाकार बुवाछोरालाई मंगलबारै उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको थियो ।
दुवै जनालाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । यसअघि पनि ज्यानै मार्ने धम्की दिँदै आएका मण्डल बुवाछोराले विहान १० बजेतिर घरमै पसेर कुटपिट गर्दै घरेलु हतयिारले प्रहार गरेको पीडति परविारले बताए ।
घरेलु हतियार प्रहार गर्दा रामसेवकको टाउको फुटेको छ भने जयप्रकाशको पनि शरीरमा चोट लागेको छ ।
एसपी ढकेन्द्र खतिवडाले कुटपिट घटनामा संलग्न वैजनाथलाई पक्राउ गरिएको बताए । ‘अन्यको पनि खोजी कार्य भइरहेको छ भने घटनाबारे थप अनुसन्धान अघि बढाएको छ’, उनले भने ।