राजविराज, ४ असार । सप्तरीको शम्भुनाथ नगरपालिका–१ गोविन्द चोकमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।
सोमबार राति करिब ९ः१५ बजे रुपनीबाट शम्भुनाथतर्फ गइरहेको स १ त ४९७२ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आइरहेको प्र२–०१–००१ प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक रुपनी गाउँपालिका–१ निवासी २५ वर्षीय मो. आजद मिँयाको गम्भीर चोटका कारण गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पताल पु¥याइएपछि चिकित्सकले उनलाई पछि मृत घोषणा गरेका थिए ।
मोटरसाइकलको पछाडि सवार रहेका १८ वर्षीय समिर मिँया, जो बसिर मिँयाका छोरा हुन्, घाइते भएका छन् । टाउको, हात र खुट्टामा चोट लागेका समिरको युनिक अस्पताल, रुपनीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र उनको अवस्था सुधार हुँदै गएको जनाइएको छ ।
दुर्घटनापछि ट्रयाक्टर चालक २७ वर्षीय कैलास कुमार यादव, शम्भुनाथ नगरपालिका–१ का बासिन्दा, जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेका छन् । साथै, ट्रयाक्टर र मोटरसाइकल दुबैलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।