तोडफोड घटनाका दोषीलाई कारबाहीको माग गर्दै कार्यवाहक मेयरद्वारा निवेदन

राजविराज, २असार। राजविराज नगरपालिकामा भएको तोडफोड घटनाका दोषीलाई कारबाहीको माग गर्दै कार्यवाहक मेयर इसरत परबिनले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन्।

एक हप्ता अघिको झडपपछि मंगलबार परबिन केही वडा अध्यक्ष र आन्दोलनरत कर्मचारीहरूसहित जिल्ला प्रहरी कार्यालय पुगेर प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडालाई निवेदन हस्तान्तरण गरेकी हुन्। निवेदनमा निलम्बित मेयर भीमराज यादवसहित नगरपालिकाका योजना शाखा प्रमुख मनोज यादव, राजविराज-९ का सुधीर यादव, राजविराज-७ का गजेन्द्र (गज्जु) यादव लगायत २०–२५ जनालाई विपक्षी बनाइएको छ।

उनीहरूले नगरपालिकाको सार्वजनिक सम्पत्ति तोडफोड गर्दै अपराधिक गतिविधि गरेको उल्लेख गरिएको छ। निवेदनमा लेखा अधिकृत शत्रुधन लाल दासलाई कुटपिट गरी उनी लगाएको २ तोलाको सुनको सिक्री खोसेको समेत उल्लेख छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६ अनुसार तुरुन्त नियन्त्रणमा लिई कानुनी कारबाही अगाडि बढाउन माग गरिएको छ।

प्रहरी प्रमुख खतिवडाले निवेदन अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। परबिनले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई पनि उक्त निवेदन बुझाएको बताइन्।

गत २७ जेठमा प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर नगरपालिकामा झडप र तोडफोड भएको थियो। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहमाथि काम नगर्ने आरोप लगाउँदै कावा मेयर परबिनले उनलाई हटाई शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रशासकीय अधिकृत बनाएकी थिइन्।
यो जानकारी पाएपछि निलम्बित मेयर यादवले २५ जेठमा नगरपालिकामा ताला लगाएका थिए। तर २७ जेठमा परबिन नेतृत्वको टोलीले ताला तोड्दै भोगेन्द्र यादवलाई कार्यभार ग्रहण गराएपछि यादव समर्थकहरूले नगरपालिकामा तोडफोड गरेका थिए।

Author:



क्याटोगरी छान्‍नुहोस