राजबिराज नगरपालिकामा आन्दोलन चर्किदै, सेवा प्रवाह ठप्प

राजबिराज २६ जेठ । राजबिराज नगरपालिकामा प्रशासनिक विवाद र अनियमितताको विरोधमा चर्किएको आन्दोलनका कारण सेवा प्रवाह ठप्प भएको छ।

निलम्बित मेयर भीमराज यादवको नेतृत्वमा नगरवासीहरूले सोमबारदेखि ९ बुँदे माग अघि सार्दै नगरपालिका कार्यालयमा तालाबन्दी गर्दै अनिश्चितकालीन रिले अनशन सुरु गरेका छन्।

यसअघि गाडीको ठक्करबाट घाइते भएका पीडित र सरसफाइ कर्मचारीहरूले आन्दोलन गरेका थिए। ती आन्दोलन थामिएसँगै कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साह र योजना अधिकृत मनोज यादवको सरुवा तथा कारबाहीसहित ११ बुँदे माग राखेर आन्दोलन थालेका हुन्।

संघीय मामिला मन्त्रालयले डा. साहलाई रौतहट सरुवा गर्दै शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई कार्यवाहक प्रमुख प्रशासकका रूपमा पठाएपछि विवाद चुलिएको हो। निलम्बित मेयर यादव सरुवा विरुद्ध उभिँदै डा. साहलाई यथास्थानमा राख्नुपर्ने अडानमा छन्। उनले सिसिटिभी प्रकरणको छानबिन, लालपूर्जा वितरण, हटिया व्यवस्थापन, सडक मर्मत र लामखुट्टे विरुद्ध औषधि छर्किनेसहितका माग राखेका छन्।

कार्यवाहक नगर प्रमुख परवीन भने मन्त्रालयको निर्णयअनुसार नयाँ अधिकृतलाई जिम्मेवारी दिनुपर्ने पक्षमा छन्। उनले यादवमाथि अनावश्यक हस्तक्षेपको आरोप लगाएकी छन्।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले समस्या समाधानका लागि पहल भइरहेको बताएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस