शिक्षक हरिनारायणले पाए अवकाश : विद्यालय परिवारद्वारा विदाई

राजविराज, २६ जेठ । राजविराज नगरपालिका वडा नम्बर–४ स्थित आधारभूत विद्यालय केन्द्र नम्बर ६ का शिक्षक हरिनारायण यादवलाई एक कार्यक्रमका बीच सोमबार विदाई गरिएको छ ।

उमेरको हदले सेवा अवधी पुरा भएपछि उनलाई विद्यालयमा आयोजित कार्यक्रममा विदाई गरिएको हो । २०४१ साल फाल्गुन १८ गते धनकुट्टा जिल्लाको शहिदभूमि गाउँपालिका ४ स्थित कन्यादेवी माध्यमिक विद्यालय खोकुबाट उनले शिक्षण सेवा प्रवेश गरेका थिए । त्यहाँ रहेर उनले २४ वर्ष सेवा गरी २०६५ साल कार्तिकमा सरुवा भई गृह जिल्ला सप्तरीको राजविराज नगरपालिकाको केन्द्र नम्बर ६ स्थित विद्यालयमा हाजिर भएका थिए ।

प्रा.शि. द्वितीय शिक्षक यादव शिक्षण पेशामा रहेर ४१ वर्षसम्म शिक्षा क्षेत्रमा योगदान पुर्याएका छन् । उनलाई वडा अध्यक्ष दिनेश साह, प्रधानाध्यापक शंकर कुमार यादव, विद्यालय व्यवस्थापन समितिका सदस्य समेतले सम्मानपत्र तथा मायाको चिनो दिएर आगामी यात्राको सफलताको कामना गर्दै विदाई गरेका छन् । सोही अवसरमा  शिक्षक, कर्मचारी, विद्यार्थी समेतले मायाको चिनो लगायतका सामग्री चर्चित शिक्षक यादवलाई प्रदान गरेका छन् ।

धनकुट्टामा पनि लामो समयसम्म सेवा पुर्याएका उनी शिक्षाको स्तर उकास्न इमानदारीका साथ योगदान पुर्याएका छन् । विदाई कार्यक्रममा उनले खोकुमा कार्यरत रहँदा स्थानीयवासिन्दाबाट पाएको अगाध स्नेह अविस्मरणीय रहेको स्मरण गर्दै उनले भने ‘राजविराजमा पनि कार्यरत रहँदा मैले विवेकले भ्याएसम्म इमानदारिताका साथ पेशाप्रतिको दायित्व निर्वहन गरेको हुँ, मैले धनकुट्टा र सप्तरीमा मैले पढाएका विद्यार्थीहरुलाई विभिन्न ओहोदा पुगेको देख्दा गौरवान्वित हुन्छु ।’

शिक्षण यात्राको अन्तिम दिन सोमबार विहान ६.०० बजे विद्यालय पुगेर हाजिरी गरेर कक्षाकोठामा पठनपाठनमा सहभागी भएका थिए । शिक्षण पेशामा कार्यरत रहँदा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गर्दै उनले धन्यवाद दिएका छन् । उतराद्र्ध जीवन शिक्षा क्षेत्र तथा मानवसेवामा सक्रिय रहेर बिताउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस