सुमन स्मारिका
यो संसारले तिमीलाई आँखा तल गर्ने आदेश दिनेछ,
कसैले तिमीलाई चुप लाग भन्न सक्छ,
तर तिमी बोलीरहनु ।
तिमीले आँखा उठाएको दिनबाट भुइँ हल्लिने छ,
हल्लिरहन दिनु ।
पार्वती,गाजल भनेको सिंगार मात्रै होइन
यसले लाज काट्छ,घाउ देखाउँछ।
गाजल संसारको सबैभन्दा ठुलो आरोपको उत्तर पनि हो ।
तिमी देवी पार्वती पनि हौ,जसले सृष्टि सम्भाल्छे।
तिमी सडकको एउटी चिया बेच्ने आमा पनि हौ,
जसको आँखामा सारा संसार निदाउँछ।
तिमी एउटा सुत्केरी स्त्री पनि हौ,
जसको आँखामा गाजल भन्दा पहिला थकान देखिन्छ।
तिमी गाजल लगाउन नछोड्नु,
किनकि गाजल लगाउने प्रत्येक आँखामा,
एउटा नभएको संविधान लेखिएको हुन्छ।
गाजल लगाउँदा तिमी आफैँ कविता देखिन्छ्यौ।
शब्दभन्दा अगाडि—दृष्टि।
आख्यानभन्दा अगाडि—आँखाहरू।
र धर्मभन्दा अगाडि—नारी
जसरी पृथ्वीले हरेक दिन घाम ओढ्न छोड्दैन,
जसरी पवनले पातहरूलाई हल्लाउन छोड्दैन,
तिमी पनि आँखा सजाउन नछोड्नु—
तिम्रो आँखामा बाँकी छन्,
अघिल्ला पुस्ताका बाँधिएका सपनाहरु।
गाजललाई उनीहरू सजावाट भन्छन्—
तर उनिहरु बिर्सिन्छन्,
कसरी आँखाको कोरामा कालो रेखा खिच्दा,
उनिहरुकै होसले काम गर्न छोड्छ।
तिमीलाई देखेर झस्कन्छ समाज,
किन कि तिमी सिधा हेर्छ्यौ—कहिल्यै निहुरिँदैनौ।
कालो जस्तो सफा कुनै रङ हुँदैन—
तिमी नछोड्नु गाजल—
कसैले भनून् ‘बेशर्मी’,कसैले भनून् ‘उत्तेजक’,
कसैले भनुन्, ‘तिर्खा जगाउने आँखाहरु’,
तिमी झनै कालो बनाउनु आँखालाई,
उनीहरू गाजलसँग डराएका होइनन्,
तिमी हेरिरहेकी छ्यौ भनेर डराएका हुन्।
पार्वती,गाजल तिमीले लगाएको सजावट होइन—
तिमीले कमाएको उत्तरदायित्व हो।
जब तिमी आँखा उठाउँछ्यौ—एक जनाले मात्र होइन,
सिंगो समाजले आफूलाई देख्न थाल्छ।
तिमी गाजल लगाउन नछोड्नु,
न युग फेरिँदा,न लाज लादिँदा,
न नाता तोडिँदा,न कहिल्यै प्रेमको नाममा पराजित हुँदा।
गाजलको एक-एक रेखाले बनाउँछ तिम्रो क्रान्तिको रेखाचित्र—
कहिले कुँजिएका सपनाहरूको शोकगीत,
कहिले लिपिबद्ध इतिहासको नयाँ संस्करण।
अब,तिम्रो आँखाले मन्दिरको,
सिंहद्वार चिरेर शहरको साँचो खोजिसकेको छ।
तिमीले गाजल लगाउंदा—
कसैको अहंकार त ढल्छ नै,
कसैको घमण्ड त काँप्छ नै,
आकाश पनि सोच्छ—
“यो आँखामा जुन छ कि सूर्य ?
तिमीले गाजल लगाउँदा—कविता जन्मिन्छ,
र सारा शास्त्रहरू तिमीलाई पढ्न थाल्छन्।
पार्वती तिमी गाजल लगाउन नछोड्नु….!