इँटाभट्टाको धुलोदेखि अस्पतालसम्मः हरिजन समुदायकी पहिलो महिला डाक्टर बनिन् स्मृति

जनकपुरधाम, २ असार । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–८, बहादुरगन्जकी स्मृति हरिजन मधेशी दलित समुदाय (विशेषगरी चमार, डोम, मुसहर, बादी) बाट पहिलो महिला चिकित्सक बन्न सफल भएकी छन् ।

उनको यो उपलब्धि केवल व्यक्तिगत विजय होइन, सामाजिक विभेदका पर्खाल भत्काउने ऐतिहासिक पाइला हो । इँटाभट्टाको धुलो र तातो भुँइमा पसिना बगाउँदै हुर्केकी स्मृति अहिले जनकपुरस्थित जानकी मेडिकल कलेजबाट एमबिबिएस पूरा गरी इन्टर्नसिप गर्दैछिन् । नेपाल सरकारको छात्रवृत्तिमा पढाइ पुरा गरेकी उनी अहिले ‘नेपाल मेडिकल काउन्सिल’को परीक्षा समेत उत्तीर्ण गरिसकेकी छिन् । अब अनिवार्य दुई वर्षको सरकारी सेवा गर्ने तयारीमा छन् ।

स्मृतिको सफलता पछाडि उनका बाबु सन्तराम हरिजनको कठोर संघर्ष लुकेको छ । एसएलसी पास गरी प्रहरी बनेका सन्तरामले एक शक्तिशाली व्यक्तिलाई कारबाही गर्दा झुटो आरोपमा जागिर गुमाए । त्यसपछि शिक्षण र मजदुरी गर्दै आफ्ना सन्तानलाई शिक्षाबाट वञ्चित हुन दिएनन् ।

स्मृति मात्र होइन, उनका दाजु–बहिनीहरू पनि असाधारण उपलब्धिमा छन् । छोरी सृजना बेलायतमा एमबिए (फाइनान्स) गर्दैछिन् भने छोरा सन्दीप भारतको प्रतिष्ठित एनआइटी राउरकेलामा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत छन्।

स्मृति भन्छिन्, ‘म पहिलो हुँ, तर अन्तिम होइन ।’ स्मृतिको यो यात्रा समाजका ती युवायुवतीका लागि प्रेरणाको स्रोत हो, जो गरिबी, जातीय अपमान र असमानताबीच पनि सपना देखिरहेछन ्। उनको संघर्षले देखायो– शिक्षा नै मुक्ति हो, र यो मुक्ति सबैका लागि सम्भव छ ।

Author:



क्याटोगरी छान्‍नुहोस