श्यामसुन्दर यादव ‘पथिक’

गाउँको चौतारोमा ठिङ्ग उभिएको म एक पिपलको रूख । आजभन्दा करिब सय वर्ष अगाडि मलाई रोपिएको थियो । त्यतिबेला म सानै विरुवा थिएँ । पटक–पटक पशुचौपाया, हावाहुरी र घामपानीको प्रहार सहँदै हुर्किएँ । मेरा हाँगा विस्तार भएसँगै चर्को घाम र प्रचण्ड गर्मीमा असङ्ख्य मानवलाई सहारा दिईरहेँ । गाउँलेहरु मात्र होइन, हज्जारौं बटुवाहरु सुस्ताइ रहे ।
स्वच्छन्द रुपमा म विशाल हुँदै गइरहेको थिएँ । मेरा जराहरु चारैतर्फ फैलिदै थियो । मानवले आफ्नो अनुकुल पक्की चौतारा बनाएर मलाई घेरिदियो । मेरा जरा र शरिरलाई कङ्क्रीटले सिमित गरिदियो । म चुपचाप हेरिरहेँ । सहिरहेँ । म पक्की संरचनाले घेरिएँ । तर आश्रय दिन भने छाडिनँ । मैले न जात देखे न धर्म । न गरिब न धनी । नठूलो नसानो । मेरा लागि सबै समान ।
मेरै छत्रछायामा बसेर धेरैले आफ्नो दुःख बिसाए । खुशीका पल पनि साटासाट गरे । गाउँघरका विवाद होस् वा अन्य कुनै छलफल । यहीँ थियो निराकरणको थलो । ती सबैका साक्षी पात्र म, चुपचाप सुनिरहेँ । हो, अहिले मानव विलासी भएका छन् । मोबाइलको बन्दी बनाएका छन् । वौद्धिकता त हराएको छ नै स्वतन्त्रता पनि खोसिन पुगेको छ । कृत्रिम वातानुकुलित (एसी)मा भुल्न थालेका छन् । स्वच्छ हावाको आनन्द लिनेहरु कम हुँदैछन् । त्यही भएर मेरो काँखमा सुख–दुःख बिसाउन कमै मात्र मान्छे आउँछन् । बरू, पूजाआजा गर्नेहरु समय–समयमा आउने गर्छन् ।
मलाई रोप्ने मान्छे आज यो संसारमा हुनुहुन्न । उहाँले मलाई बडो जतन गरेर हुर्काउनुभयो । यो गाउँमा धेरै जन्मिए, कोही रोग लागेर, दुर्घटनामा परेर त कोही दैवीप्रकोपमा परे असमय लोक छाड्न बाध्य भए । धेरे त समय पुगेर ।
मेरो छेवैबाट शवयात्राको शोकमय क्षण मात्र होइन, खुशीका क्षणमा आनन्दित पनि भएको छु । लोकनाच तथा ढोलपिपही, रेशमचौकी, भजन किर्तन, महराइ, विषय किर्तन कर्णप्रिय ध्वनी हुँदै बैण्डबाजा र डिजेसम्मको कर्कस ध्वनी सहेको छु । विवाह सम्पन्न भएपछि छोरी–बुहारीलाई डोली, महफा बयलगाडाको ओहार हुँदै अत्याधुनिक सुसज्जित कारमा मेरै छेउबाट आए–गएको देखेको छु ।
गाउँमा नव दुलही भित्रिएको खुशी तथा छोरीहरुको विहे भएर गाउँ छोड्दाको पीडाको साक्षी हुँ म । आफन्तबाट छुट्टिएर ससुराली गाउँ जाँदै गर्दा मुटु नै धुजाधुजा हुने क्षणले मलाई पनि नघोंचेको होइन । तर म व्यक्त गर्न नसकी अवाक थिएँ ।
यहीँको माटोमा जन्मिएर मेरै छहारीमा हुर्किएर जीवनको उतराद्र्धमा संसार छाडेकाहरुको शवयात्राको दृष्यले मेरो मुटु छियाछिया हुने गर्दछ । सहनै नसकिने असह्रय पीडा । किनभने छोरी त कहिलेकाही माइत आइहाल्छिन् तर संसारै छाड्नेहरु त कहिल्यै फर्केर आउँदैन नि ! त्यस्तै अर्को पीडा त मेरै छहारीमा खेले हुर्केका युवाहरु कमाउन विदेशिदै गर्दा भर्खरकी नवदुलही, वृद्ध मातापिता, प्यारी बहिनीसँग छुट्टिदै गर्दाको दृष्यले उनीहरुसँगै म पनि भावुक हुन्थे ।
गाउँका ठिट्टो पिठ्युमा झोलाको भारी बोकेका युवक हातले आँसु पुछ्दै ओझेल हुँदै गरेको देखेको छु । कहिलेकाही गाउँ छाड्नेको लर्को देखिन्छ । यो क्रम निरन्तर जारी थियो । गाउँ सुनसान हुँदै थियो । म भने आफ्ना मनोभाव मानवसँग साट्न सकिरहेको थिइनँ । शान्त थिएँ । चुपचाप थिएँ । किनभने म थिएँ पीपलको रूख । नबोल्न सक्थेँ । न केही गर्न नै सक्थेँ । शरिरमा ज्यान भएर पनि बोली बिनाको कुनै निर्जिव वस्तु जस्तो । ठिङ्ग उभिरहेँ ।
सोचिरहेँ, म पनि अब बुढो हुँदैछु । सामथ्र्य घटेपछि न ममा पात रहन्छ । अस्थीपञ्जर जस्तै हुन्छु । चराचुरुङ्गी पनि मलाई छाडेर अन्तै बसेरा बनाउनेछन् । त्यतिबेला म एक्लो हुनेछु, नत चराहरुको चिरचिर आवाज सुनिनेछन् नत मानव नै मेरो सामु आउनेछन् । मेरै छेउबाट मान्छे आवजावत गर्नेछन् तर मेरा दशाप्रति कसैको चिन्तासुर्ता रहँदैन । पातबिनाको जीउ, अनि चिरा परेको फाटिएको छाला भएको म पिपलको रूख चौतारामै घेरिएको हुनेछु ।
गाउँटोलका लागि पनि बोझ जस्तै हुनेछु । कसैले अशुभ त कसैले बेकामे भन्नेछन् त कसैले कुरुप । कुनै कसैलाई झोंक चल्ला मेरो अस्थीपञ्जरलाई जरैबाट अलग गरिदिनेछन् । टुक्राटुक्रा पार्दै डिहबारको प्रसाद जस्तै भाग लगाएर आआफ्ना घर लग्नेछन् । ठूलाठूला भट्ठी तथा चुलोमा दाउराको रुपमा प्रयोग गर्नेछन् । टहटहाउँदो आगोको रापमा बल्दै राखमा परिणत हुन बाध्य हुनेछु ।
बाँचुञ्जेल मेरा छहारीमा सुस्ताएकाहरुको सम्झनामा रहन्छु वा विस्मृत हुन्छु, थाह छैन । तर अहिले ममा सामथ्र्य छ । मैले गर्नुपर्ने कर्तव्यबाट चुक्दिनँ । चाहे मानवले मैले लगाएको गुण विर्सोस् । म त्यै चौतारोमा घेरिएको पीपल रूख । म बोल्न सक्दिनँ । चुपचाप कर्तव्य मात्र बुझ्छु । कसैले मेरो अस्थीपञ्जरमाथि बञ्चरो प्रहार गरोस् वा आरा चलाओस् । सिङ्गै फालिदिओस् वा टुक्राटुक्रा पारोस् । मलाई पर्वाह छैन । भोलीको के ठेकान ? कसले देखेको छ र भोली ? आज त मसँग छ । जबसम्म धर्तीमा रहन्छु तबसम्म सेवामा समर्पित स्थिर र अटल रहन्छु । किनभने म स्वार्थी मानव होइन । ममा लोभलालच, रिस, राग अनि कुण्ठा पनि छैन । म रूख हुँ ।
मलाई जस्तै मानवले विरुवा रोपेर हुर्काएमा जीवनपर्यन्त र जीवनोपरान्त काम लाग्नेछु । यतिमात्र होइन, प्राणरक्षाका लागि अक्सिजन दिईरहनेछु । ममाथि आरा र बञ्चरो चलाउने बन्द गरिदिनुस् । म बोल्न सक्दिनँ तर ममा पनि तिमीहरु जस्तै जीवन छ ।
आफ्नै दाजुभाइ तथा साथ छोडिदेलान्, तर अहँ, म त साथ छोडदिनँ । सबैले साथ छोडिदिएर एक्लो हुँदा पनि म सधैं साथ दिनेछु । हामी जस्ता रूखविरुवाहरुले लिन होइन, दिन मात्र जानेका छन् । जुनीजुनी सँगै जीउने सँगै मर्ने, सात जुनीसम्म साथ रहने कसम खाने ठिट्टा–ठिट्ठीको जस्तो झुटो माया जस्तो होइन । एकपटक हामी जस्तालाई माया गरेर त हेर्नु । आफ्नो प्राणवायु दिएर तिमिलाई जीवन्त राख्नेछु । हो, साँच्चिक्कै भन्दैछु, स्वार्थी छुइनँ, अहँ, हुँदिन पनि । किनभने किनभने धनको पछाडि भौतिक इमान बेच्ने मानव होइन, चौतारोमा घेरिएको पिपल हुँ । अचल अटल यथास्थानमा उभिएको छु । मन्दिरको मूर्ती जस्तै । सबै थोकको साक्षी म पीपलको रूख । हो, म पीपलको रूख । लेखक यादव, पत्रकारिता र साहित्य लेखनमा सक्रिय हुनुहुन्छ । (सं.)