कामै नगरी करोडबढी निकासा : समाचार लेख्नेलाई ज्यान मार्ने धम्की

राजविराज–सप्तरीको महादेवा गाउँपालिकामा कामै नगरी एक करोडभन्दा बढी भुक्तानी लिएको विषयमा समाचार लेख्ने एक पत्रकारलाई ज्यान मार्ने धम्की आएको पाइएको छ ।

नेपाल पत्रकार महासंघ, सप्तरीका कोषाध्यक्ष समेत रहेका पत्रकार नवीनकुमार गुप्तालाई ज्यान मार्ने धम्की आएको हो । पत्रकार गुप्ताले गाउँपालिकामा भएको विद्युतीकरणमा अनियमितताबारे गत शुक्रबार राजविराज दैनिक पत्रिकामा समाचार लेखेका थिए ।

सो विषयमा सोही गाउँपालिका बस्ने अभिषेक मण्डलले ज्यान मार्ने धम्की दिएको पत्रकार गुप्ताले बताए । ‘सोमबार साँझ सवा ९ बजेतिर फोन गरेर मण्डलले समाचारमा मेरो नाम किन हालेको भन्दै गालीगलौज गर्दै ज्यान मार्ने धम्कीसम्म दिए’ उनले भने, ‘समाचारमा चित्त बुझेको छैन भन्ने त्यसको पनि प्रक्रिया छ भनिरहदा समेत ज्यानै मार्ने धम्कीसम्म दियो ।’

ज्यान मार्ने धम्कीपछि नेपाल पत्रकार महासंघ, सप्तरीले उक्त घटनाको भत्र्सना गरेको छ । महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासको संयुक्त हस्ताक्षरमा मंगलबार जारी भएको विज्ञप्तिमा धम्की दिनेलाई कानुनअनुसार कार्वाही गर्न माग गरिएको छ ।

कारबाही नगरिए आन्दोलनमा उत्रिने विज्ञप्तिमा चेतावनी समेत दिइएको छ भने मंगलबारै महासंघ, सप्तरीले पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको छ ।

किन आक्रोशित बने अभिषेक ? 

गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा कृषि विद्युतीकरणका लागि १ करोड ५० लाख र संघीय सरकारको १ करोड ५० लाख गरी ३ करोड योजना थियो ।  सियाराम/श्यामा जेभी बलान विहुल सप्तरीले गाउँपालिकाको सबै वडामा ४५० वटा विद्युत पोल र १० वटा ट्रान्सफर्मर जडान गर्ने ठेक्का पाएको थियो ।

तर, अहिलेसम्म २ सय ५० वटा पोल मात्रै गाडेको छ भने गत वर्षसम्म २ करोड ७० लाख भुक्तानी लिइसकेको छ ।

उक्त विद्युतीकरण कामका लागि सियाराम/श्यामा जेभीले ठेक्का पाएपनि गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलको नातामा सालो पर्ने अभिषेकले कम काम गरेर बढी निकासा लिएको राजविराज दैनिकको समाचारमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस