तानाशाही प्रवृत्ति अपनाएको आरोप खेपिरहेका राजगढका अध्यक्षद्वारा पत्रकारमाथि दुर्व्यवहार

राजविराज, २२ साउन–योजनै पिच्छे गरेको अनियमितता लुकाउन तानाशाही प्रवृत्ति अपनाएको आरोप खेपिरहेका सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।

अन्य जनप्रतिनिधि र स्थानीयहरुले थालेको आन्दोलनका विषयमा मंगलबार समाचार संकलनका लागि पुगेका पत्रकारहरुमाथि गाउँपालिका अध्यक्ष मण्डलले दुर्व्यवहार गर्दै बुम (माइक) खोसेर थुन्नसम्म लगाएका हुन् ।

समाचार संकलन गरिरहेका नेपाल पत्रकार महासंघ, सप्तरीका सचिव तथा कान्तिपुर टेलिभिजनका सप्तरी सम्वाददाता आरएन विश्वासको माइक अध्यक्ष मण्डलले खोसेका थिए । विश्वाससँगै नेपाल पत्रकार महासंघ, सप्तरीका कोषाध्यक्ष नवीनकुमार गुप्ता र महासंघका कार्यसमिति सदस्य समेत रहेका मधेशलाइभका कार्यकारी सम्पादक तथा नेपाल समाचारपत्रका सप्तरी सम्वाददाता विद्यानन्द रामलाई अध्यक्ष मण्डलले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा केहीबेर थुन्नसम्म लगाए ।

‘समाचार संकलनको क्रममा प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार यादव बाहिर हुँदा पनि उनको कक्षमा एसी चलिरहेको थियो, उक्त फोटो खिचेर फर्किन लाग्दा गाउँपालिका अध्यक्षले अभद्र व्यवहार गर्दै बुम खोसेर केही बेर थुन्नसम्म लगाए’ नेपाल पत्रकार महासंघ, सप्तरीका सचिव विश्वासले भने, ‘मेरो अफिसमा अनुमति विना किन छिरेको र फोटो खिचेको भन्दै अभद्र व्यवहार गर्न थाले ।’

गाउँपालिका अध्यक्ष मण्डलकै आदेशमा कर्मचारी रामविलास यादव, रामअवतार मण्डल, जितेन्द्र पटेल, संजीव मण्डल र घन्सी मण्डलले मोबाइलसम्म खोस्ने प्रयास गरी दुर्व्यवहार गरेको अर्का पत्रकार गुप्ताले बताए । ‘गाउँपालिका अध्यक्षले देखाएको व्यवहार खेदपूर्ण छ’ उनले भने, ‘अझ स्पष्ट हुनुछ भने त्यस कक्षमा रहेको सिसिटिभीको फुटेज हेर्नुहोला, उनीहरुको रबैया र अन्य गतिविधि सिसिटिभीको फुटेजले स्पष्ट गर्छ नै ।’

अनियमितता लुकाउन तानाशाह प्रवृत्ति अपनाएको तथा कानून र विधि प्रक्रिया विपरित गरिएको १३ औं गाउँसभा पुनः सञ्चालनसहितका १० बुँदे माग गर्दै वडा नम्वर ५ का वडाअध्यक्ष ७३ वर्षिय दुःखिलाल भन्ने देवेन्द्रप्रसाद साह नेतृत्वमा ३३ मध्ये १७ जना कार्यपालिका सदस्य र स्थानीयहरुले गत आइतबारदेखि आन्दोलित छन् ।

यसअघि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई आवश्यक पहलका लागि ज्ञापन–पत्र बुझाएका उनीहरुले मंगलबार गाउँपालिका अध्यक्ष मण्डल र उपाध्यक्ष रेणुदेवी मण्डललाई ज्ञापत्र–पत्रको बोधार्थ पत्र बुझाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार