जग्गाधनीलाई जानकारी नै नदिई ४ करोडबढीको जग्गा विक्री

राजविराज, २ असोज–सप्तरीको राजविराज बजारमा चार करोडभन्दा बढी मूल्य पर्ने जग्गा जग्गाधनीलाई जानकारी नै नदिई विक्री भएको पाइएको छ ।

जिल्लाको राजगढ गाउँपालिका–२ स्थायी घर भई राजविराज नगरपालिका–६ मा बस्दै आएका विनोद ठाकुरले पत्रकार सम्मेलन गरेपछि सो विषय खुल्न आएको हो । उनका अनुसार राजविराज नगरपालिका–६ स्थित मिलन डेरी उद्योग सञ्चालन भइरहेको कित्ता नं.१७ (ब्लक नं.९२) को २ कट्ठा १५ धुर जग्गाको फर्जी कागजात तयार पारेर अर्कै व्यक्तिको नाममा जग्गाधनी प्रमाण–पत्र समेत कायम भइसकेको छ ।

उक्त जग्गाका वास्तविक जग्गाधनी राजगढ गाउँपालिका–६ बस्ने आनन्द ठाकुर भनिने ठाकुर आनन्द हाल अस्ट्रेलियास्थित सिड्नीमा छन् । उनी स्व.गुणानन्द ठाकुरका छोरा हुन् भने विनोद नातामा पर्ने भाइ हुन् ।

स्व.गुणानन्दले नै ०३५ साल असोज १८ गते देवबहादुर बस्नेतबाट राजविराज नगरपालिका तत्कालीन वडा नम्वर ७ को साविक कित्ता नं.५४ (ब्लक नं.९२) को कुल ५ कठ्ठा १३ धुरमध्ये पूर्वतर्फबाट १ कठ्ठा १० र ०५६ साल जेठ १३ गते अनिलकुमार वियानीबाट सोही कित्ताबाट १ कठ्ठा ५ जग्गा खरिद गरेका थिए ।

०३५ साल असोज १८ गतेमा र.नं. ८३६ र ०५६ साल जेठ १३ गतेमा र.नं.८०५४ मा लागत कायम भएको उक्त जग्गाको हालसम्म मालपोत तिर्दै आएको ठाकुरले पत्रकार सम्मेलनमा बताए । तर, जग्गाधनीलाई जानकारी नदिई नापी कार्यालय सप्तरी र भूमि सुधार तथा मालपोत सप्तरीसँग मिलेमतो गरी ०७८ पुस १३ गते नै उक्त जग्गा जिल्लाको साविक मधुवापुर–३ (हाल हनुमाननगर कंकालीनी नगरपालिका–४) बस्ने शैलेन्द्रचन्द्र झाको नाममा जग्गाधनी प्रमाण–पत्र कायम गरिएको उनले दावी गरे ।

‘मिलन डेरीका सञ्चालक मिलनकुमार सिंह र झाबिच आन्तरिक सहमति भई दुवै जनाले तत्कालीन नापी कार्यालय सप्तरीका प्रमुख शत्रुधनप्रसाद यादवसँग मिलेमतो गरी फर्जी कागजात तयार गरेर फर्जी जग्गाधनी खडा गरेर जग्गा हड्प्न चलखेल भइरहेको छ’, उनले भने, ‘अहिले खडा गरिएका जग्गाधनी झासँग उक्त जग्गाको के प्रमाण छ ? र के आधारमा उनको नाममा जग्गाधनि प्रमाण–पत्र जारी भयो ?’

जग्गा हड्प्न षडयन्त्र

उक्त जग्गा आनन्दले काका विवेकानन्द ठाकुरमार्फत ०६२/०६३ सालमा राजविराज नगरपालिका–६ बस्ने राघोप्रसाद सिंहलाई डेरी सञ्चालन गर्न भाडामा दिएका थिए । राघोप्रसादका छोरा मिलनकुमार सिंहले पनि उक्त जग्गाको भाडा तिर्दै आएका थिए । उनी मिलन डेरीका सञ्चालक हुन् ।

तर, ०८० वैशाखदेखि जग्गाको भाडा तिर्न पनि छाडेको पत्रकार सम्मेलनमा विनोदले बताए । ‘भाडा दिन छाडेको र हामीलाई गर्ने व्यवहार पनि ठिक नलागेपछि जग्गा हड्प्न गरेको षड्यन्त्रबारे हामीले जानकारी पाए’ उनले भने, ‘मिलनकुमार, शैलेन्द्रचन्द्र र तत्कालीन नापी कार्यालय सप्तरीका प्रमुख यादवसँग मिलेमतोमा फर्जी कागजात तयार गरेर शैलेन्द्रचन्द्रको नाममा जग्गाधनी प्रमाण–पत्र कायम गरेको देखियो ।’

उनले उक्त जग्गाको आवश्यक प्रमाणसहित राजविराज नगरपालिकाको न्यायिक समितिमा निवेदन दिँदा समेत सुनुवाइ नभएको गुनासो गरे । ‘त्यसपछि बाध्य भएर फर्जी कागजात तयार गरी जग्गा हड्प्ने कार्यमा लागेका फर्जी जग्गाधनी झा, नापीका प्रमुख यादवसहितका विरुद्ध अदालतमा मुद्दा पनि हालेको छु’, उनले भने, ‘उक्त जग्गा धरौटी, दान तथा रजिष्ट्रेशन वा अन्य कुनै पनि प्रयोजनकालागि योग्य नहुने गरी अदालतबाट रोक्का आदेश भएको छ तर सर्वसाधारणलाई भू–माफियाहरुले कतिसम्म दुःख दिने गरेको कुरा सबैले बुझ्नु पनि जरुरी छ नि ।’

उता, झाले उक्त जग्गा आफ्नो रहेको दावी गरे । ‘उनीहरु गलत भनिरहेका छन्, त्यो जग्गा हाम्रो हो’ आनन्द ठाकुर परिवारसँग सरकारी कागजात छ र मिलन डेरीले पनि उनीहरुलाई नै भाडा तिर्दै आएको प्रमाण समेत देखियो अनि त्यो जग्गा तपाईको कसरी हो त ? भन्ने प्रश्नमा झाले भने, ‘हामीसँग पनि प्रमाण छ ।’

मिलन डेरी सञ्चालक मिलनकुमारले त्यसमा आफ्नो कसैसँग पनि कुनै मिलेमतो नरहेको प्रतिक्रिया दिए । ‘मैले जग्गाधनिलाई भाडा तिर्नुपर्ने हो र जग्गाधनि प्रमाण–पत्र लिएर आइसकेपछि के गर्ने ? तर अदालतमा मुद्दा परेकोले अहिले भाडा रोकेको मात्र हो, मैले एक पक्षलाई भाडा तिरिदिन्छु र अदालतले अर्कैको जग्गा हो भनि भन्यो भने दोहोरो भाडा तिर्नुपर्ने अवस्था आउँछ’ उनले भने, ‘मैले पहिले पनि शैलेन्द्रचन्द्र जीलाई भाडा तिर्दै आएको र कुनै–कुनै महिना उहाँकै भनाईमा विवेकानन्द जीलाई भाडावापतको रकम दिएको छु ।’

नापी कार्यालयका प्रमुख सुमनकिशोर मिश्रले स्थानीय तहको सिफारिसअनुसार माग दावी गर्न आएकालाई प्रक्रियाअनुसार नै ती जग्गा पास भएको बताए । ‘तर विदेशमा रहेकाको हकमा थाहा पाएको मितिले २ वर्षसम्म म्याद रहेकोले सोहीअनुसार उहाँहरु हाल अदालत गएका छन् र अदालतबाट नै ती विषयमा निरुपण हुनेछ ।’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार