राजविराजमा आन्तरिक राजस्व विभागको ‘स्टिकर’ सहितका नक्कली चुरोट खुलेआम बिक्री

राजविराज, २३ असोज–सप्तरीको राजविराज बजारमा आन्तरिक राजस्व विभागको ‘स्टिकर’सहितका नक्कली चुरोट खुलेआम बिक्री भइरहेको खुलेको छ ।

उपभोक्ताले गरेको उजुरीका आधारमा खटिएका आन्तरिक राजस्व कार्यालय लहान करदाता सेवा कार्यालय राजविराजका टोलीले बुधवार राजविराजस्थित राघवेन्द्र साहु तेलीले सञ्चालन गर्दै आएको गोपाल एण्ड बजरंग ट्रेडर्समा छड्के गरेको थियो ।

छड्केबाट उक्त पसलमा ६० प्याकेटभन्दा बढी आन्तरिक राजस्व विभागको ‘स्टिकर’ सहितका खुकुरी ब्राण्डको नक्कली चुरोट बरामद भएको करदाता सेवा कार्यालय राजविराजका नासु दिल्लीरमण भण्डारीले जानकारी दिए ।

उनका अनुसार चुरोटमा लगाइएको आन्तरिक राजस्व विभागको स्टिकर पनि नक्कली नै देखिएको छ । ‘सक्कली स्टिकरमा आन्तरिक राजस्व विभागको मोबाइल एपबाट स्क्यान गर्दा सबै विवरणहरु देखिन्छ तर बरामद भएका नक्कली चुरोटमा लागेको स्टिकर स्क्यान गर्दा कुनै विवरण देखिदैन’ उनले भने, ‘र, उक्त चुरोटको बिल–विजक पनि व्यवसायीसँग छैन् ।’

नासु भण्डारीले छड्को क्रममा गोपाल एण्ड बजरंग ट्रेडर्स अन्तः शुल्कमा पनि दर्ता नरहेको पाइएकोले अन्य ब्राण्डका चुरोट पनि बरामद गरिएको बताए ।

‘हामीले बरामद गरेका चुरोट थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय लहान पठाउने तयारी भइरहेको छ’ उनले भने, ‘पसलबाट डेढ बोरा जति कविर नामक सुर्ति पनि बरामद भएको छ ।’

आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत भिमप्रसाद काफ्लेले नक्कली चुरोट बिक्री भइरहेको भन्दै आएको उजुरीका आधारमा खटिएको टोलीले चुरोट बरामद गरेको बताए । ‘हामी थप अनुसन्धान गर्छौ र ती चुरोट नक्कली ठहरिए कानूनअनुसार कारबाही हुने बताए ।’, उनले भने ।

उता, व्यवसायी भने विलेकिया (तस्कर) बाट उक्त चुरोट लिएर बिक्री गर्दै आएको प्रतिक्रिया दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस