राजविराज–सप्तरीमा फिल्मी शैली अपनाएर गाँजा तस्करी भइरहेको खुलेको छ । सोमबार राति प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेपछि सो विषय खुल्न आएको हो ।
मंगलबार विहान जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै टिपर र चालकसहित बरामद गरिएको १७ क्विन्टल १७ किलो गाँजा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा एसपी ढकेन्द्र खतिवडाले जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट को १ख ६५०३ नम्वरको टिपर र चालक धनकुटाको शहिदभूमि गाउँपालिका–३ बस्ने ३३ वर्षीय यमिजित राईसहित उक्त गाँजा बरामद गरिएको बताए ।
‘विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कल्याणपुरका इन्सपेक्टर डम्बर विश्वकर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको उक्त गाँजा बरामद गरेका छन्’ उनले भने, ‘बरामद गरिएको उक्त गाँजा ५६ वटा बोरामा प्याक गरी टिपरमा लोड गरिएको तथा ढुंगा र वालुवाले छोपेको अवस्थामा फेला परेको थियो ।’
टिपर र चालक तथा बरामद गरिएको गाँजाबारे थप अनुसन्धान भईरहेको एसपी खतिवडाले बताए ।