सघन सहरी र निर्माण कम्पनीको लापरबाहीले अकालमा ज्यान गुमाउँदै सर्वसाधारण 

राजविराज, २१ मंसिर–सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीले चार वर्षअघि सिरहाको मिर्चैया नगरपालिकास्थित बतहा नदीदेखि उत्तर थाना चौकसम्मको सडकमा दायाँ–बायाँतर्फ थालेको नाला निर्माण कार्यमा चरम लापरबाही देखिएको छ ।

सघन सहरीले आर्थिक वर्ष ०७७–०७८ मै उक्त नाला निर्माण कार्य सुरु गराएको थियो । नाला निर्माण गर्ने जिम्मेवारी पाएको विकास/गहिल/ओम गणेशाय जेभीलाई ०७८ असार २८ गते नै कार्यादेश दिएको थियो । तर, कुल १ करोड ७५ लाख ९१ हजार ९२२ रुपैयाँमा ठेक्का पाएको विकास/गहिल/ओम गणेशाय जेभीले चार वर्ष विताएर पनि उक्त नाला निर्माण कार्य आधा पनि गर्न सकेको छैन् ।

ती कार्य पनि पटक–पटक म्याद थप हुँदा मात्रै भएको छ भने नाला निर्माण गर्न ठाउँ–ठाउँमा खनिएका कारण मिर्चैयावासीलाई आवतजावत गर्न जोखिमपूर्ण बनेको छ । तर, नाला निर्माण गर्न विकास/गहिल/ओम गणेशाय जेभीले गम्भीरता देखाएको छैन् भने अहिले निर्माण कार्य अलपत्र छाड्दा समेत सघन सहरीले निर्माण कम्पनीउपर दबाव बनाउन सकेको छैन् ।

सघन सहरीले पछिल्लो पटक ०८१ वैशाख १८ गते फेरी म्याद थप गरेको छ । थपिएको म्यादअनुसार पनि ०८१ पुस २९ गतेसम्म नाला निर्माण कार्य पूरा गर्नुपर्ने हो । तर, निर्माण कम्पनीले भने पछिल्लो पटक पाएको म्याद सकिन लाग्दा समेत निर्माणलाई पुनः सुरु नै गरेको छैन् ।

सघन सहरीका अनुसार अहिलेसम्म उक्त नाला निर्माण कार्य करिब ४८ प्रतिशत मात्रै सकिएको छ भने बाँकी कार्य गर्न निर्माण कम्पनीले आलटाल गर्दै आएको सघन सहरीका आयोजना प्रमुख सुरेन्द्रकुमार साह नै बताउँछन् ।

‘हामीले निरन्तर निर्माण कम्पनीका आधिकारिक व्यक्ति राजीवकुमार साहलाई फोन र पत्रमार्फत ताकेदा गर्दै आएका छौं तर पछिल्लो समय आयोजनाबाट फोन जाँदा समेत रेस्पाउन्स भइरहेको छैन्’ आयोजना प्रमुख साहले भने, ‘तर, अब ७ दिनभित्र निर्माण कार्य नथालिए बैंक डिपोजिट जफत गरी थप प्रक्रिया अघि बढ्नेछ ।’

उनका अनुसार निर्माण कम्पनीले अहिलेसम्म ८० लाख ६९ हजार ६१३ रुपैयाँ भुक्तानी समेत पाइसकेको छ ।

महिलाको ज्यान गयो

सर्वसाधारणलाई आवतजावत गर्न जोखिमपूर्ण बनेको विषयमा मिर्चैया नगरपालिकाका सूचना अधिकारी गणेश गुप्ताले नाला निर्माण गर्नका लागि मौखिक ताकेदाकासाथै सघन सहरीलाई पटक–पटक पत्राचार गर्दा समेत अहिलेसम्म पनि निर्माण कार्य नभएको बताउँछन् । ‘त्यो नाला निर्माण गर्न सघन सहरीले ३–४ वर्ष अघि नै ठेक्का लगाइसकेको छ तर निर्माण कार्य गराउन सकेको छैन्’ उनले भने, ‘र, कानूनी समस्याले हामीले पनि गर्न मिल्दैन ।’

नाला निर्माण कार्य अधुरो रहदा मिर्चैयावासीका लागि आवतजावत गर्न जोखिमपूर्ण बनेको छ भने गत आइतबार विहान मात्रै नाला निर्माण गर्न खनिएको खाल्डोमा लडेर एक महिलाको ज्यान समेत गएको छ ।

विकास/गहिल/ओम गणेशाय जेभीले नाला निर्माण गर्न वर्षौअघि खाल्डो खनेको थियो । तर, निर्माण कार्य पूरा नगर्दा ती खाल्डोमा लडेर मिर्चैया नगरपालिका–५ बस्ने जिवछ महतोकी ३५ वर्षीया पत्नी रजिनादेवी महतोले ज्यान गुमाइन । सघन सहरी र निर्माण कम्पनीको लापरबाहीका कारण रजिनाको ज्यान गएको भन्दै आफ्न्तहरुले चौतर्फी न्यायको लागि गुहार गरिरहेका छन् भने न्यायका लागि पहल गरिदिन पनि उनीहरु सबै समक्ष आग्रह गरेका छन् ।

छानबिन समितिले घटना छानबिन गर्दै 

ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) पंचकुमार बाखुले महिलाको ज्यान गएको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको जानकारी दिए । ‘ती घटनाबारे छानबिन गर्न गत सोमबार मात्रै ३ सदस्यीय छानबिन समिति बनेको छ र समितिको छानबिनमा देखिएअनुसार थप कानूनी प्रक्रिया अगाडी बनाइनेछ ।’, उनले भने ।

निर्माण कम्पनीका राजिवकुमार साहले उक्त स्थानमा काम गर्न विवाद देखिएपछि सघन सहरी तथा भवन निर्माण आयोजनाले अर्को स्थानमा काम गराएको बताउँछन् । ‘सघन सहरीले हामीलाई त्यसको सट्टा अर्को साइटमा सडक ढलानको काम गराएको छ’ उनले भने, ‘त्यहाँ हामीले खाल्डो पनि खनेका छैनौं ।’

तर, बुधवार ती घटनाबारे छलफल गर्न सघन सहरी आएका मिचैयाका नगर प्रमुख श्रवणकुमार यादवले भने निर्माण कम्पनीले उक्त कार्य अरुमार्फत (पेट्टी ठेक्कामा) गराइरहेको र उनीहरुले खाल्डो खनेको बताउँछन् । ‘मृतक परिवारले क्षतिपूर्ति पाउनुपर्छ, त्यसैमा हामी पनि लागेका छौं र छलफल हुँदैछ’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780