राजविराज–नेपाल पत्रकार महासंघ, सप्तरीले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सचिवालय फेसबुक पेजमार्फत सप्तरी तथा मधेशका पत्रकारलाई लक्षित गरिएको पोष्टप्रति आपत्ति जनाएको छ ।
महासंघ, सप्तरीका सचिव खगेन्द्र कार्कीले आइतबार विज्ञप्ति जारी गर्दै उक्त पोष्टप्रति खेद प्रकट गरेका हुन् । ‘फाल्गुन ८ गते विहीवार जनमतको सचिवालय पेजबाट–‘सप्तरीमा कुनै पनि रिपोर्टिङ गर्दा अन्य जिल्ला वा पहाड तिरको पत्रकार ल्याई निष्पक्ष रिपोर्टिङ गर्नु’ भन्ने शब्दसहित लेखिएको अभिव्यक्तिप्रति हामी खेद प्रकट गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘जनमत पार्टीले ८ माघ २०८० मा मधेश कृषि विश्वविद्यालय शिलान्यासका क्रममा उत्पन्न विवाद र झडपबारे समाचार नलेखेको भन्नु सरासर गलत हो । त्यसबेलाका पत्रपत्रिका, अनलाइन, टेलिभिजन अहिले पनि हेर्दा त्यस सम्बन्धी धेरै समाचार आएको हामी हेर्न सक्छौ ।’
गौरवमय इतिहास बोकेको सप्तरीको पत्रकारिता अझैं आफ्नो पेशाप्रति इमान्दार रहेको भन्दै यहाँका पत्रकार हरेक दल, जाति, धर्मसहित प्रत्येक क्षेत्रमा कलम चलाउँदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा जनमत पार्टीको यस किसिमको अभिव्यक्ति सप्तरीको समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने खालको रहेको स्पष्ट गर्दै सप्तरीका समग्र पत्रकारको मान सम्मानमा ठेस पुर्याउने उदेश्यले लेखिएको शब्दप्रति घोर भर्त्सना गरिएको छ ।
उक्त अभिव्यक्ति फिर्ता लिन आग्रहसहित भविष्यमा यस प्रकारको पत्रकारविरुद्धका अभिव्यक्तिहरु सामाजिक संजाल वा अन्य कुनै माध्यममा प्रयोग नगर्न विज्ञप्तिमार्फत सचेत समेत गराएको छ ।