मलेठको गाँजा काण्ड : आरोपीको घर सिल गरेर तस्कर खोज्दै प्रहरी (भिडिओ)

राजविराज–सप्तरीको राजविराज नगरपालिका–९ मलेठबाट गाँजा बरामद भएपछि प्रहरीले घर सिल गर्दा पनि आरोपी फेला पार्न सकेको छैन् ।

फागुन १९ गते राजनारायण साहको जग्गामा रहेको ती गोदामबाट २४ क्लिन्टल गाँजा बरामद भएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार गाँजा तस्करीमा संलग्न देखिएका रोशन उर्फ राजेशकुमार यादवको घर सिल गरिएको छ । तर, आरोपी राजेश भने परिवारसहित सम्पर्कविहीन छन् ।

राजविराज–रुपनी सडकखण्ड अन्तर्गत राजविराज नगरपालिका–९ बिहारपुरस्थित सडकसँगै पूर्वतर्फ रहेको उक्त दुई तल्ले घरमा सिल लगाएर अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

उनका अनुसार जग्गाधनी राजनारायणसँग पनि सोधपुछ थालिएको छ भने आरोपी राजेशको खोजी कार्य भइरहेको छ । फागुन १९ गते ती गोदाममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वमा सुरक्षाकर्मीहरुको टोली पुग्दा राजेशलाई त्यहीबाट फोन समेत गरिएको थियो ।

गोदाम परिसरमा एउटा ट्रकबाट अर्को ट्रकमा सामान लोड भइरहेको देखेर शंका लागेपछि जिल्ला अधिकारी भोला नेतृत्वसहित सुरक्षाकर्मीहरुको टोली पुगेको थियो । स्याउका कार्टुन एउटा ट्रकबाट अर्को ट्रकमा लोड भइरहेको देखेपछि बिल मागिएको थियो तर बिल भने थिएन ।

शंकाकै आधारमा गोदाम चेकजाँच गर्न खोज्दा गोदाम रेखदेख व्यक्तिले आफूसँग साँचो नरहेको बताएका थिए । साँचो मगाउन त्यहीबाट राजेशलाई फोन गरिएको थियो । तर राजेशले आधा घण्टाको समय लिएर वेपत्ता नै भए ।

बाध्य भएर प्रमुख जिल्ला अधिकारी दाहालले सरोकारबालाहरुको रोहबरमा गोदामको ताला फुटाएर हेर्दा ८० वटा बोरामा प्याक गरिएको उक्त गाँजा बरामद भएको थियो । स्रोतका अनुसार राजेश त्यही बेला परिवारसहित भागेका थिए ।

गोदामका रेखदेख गर्ने भारत विहार राज्यको मधुबनी जिल्ला कुकुरदौडा ग्राम पञ्चायत वडा–१० छातापुर बस्ने ६६ वर्षीय रामनारायण यादव भने पक्राउ परेका छन् । राजेश रामनारायणका नाती ज्वाइ रहेको एसपी खतिवडाले बताएका छन् ।

श्रोतका अनुसार रोशन उर्फ राजेशकुमार यादव पनि भारतीय नागरिक हुन् । यो एंगलबाट पनि अनुसन्धान भइरहेको प्रहरी स्रोतको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780