राजविराज, ८ वैशाख । सप्तरीको महादेवा गाउँपालिका–१, सोनरा गाउँमा पशु चौपायाकालागि खानेपानी अभाव भएपछि अस्थायी जलाशय निर्माण गरिएको छ ।
जीता र घोरदह नदीको सङ्गममा पानीको स्रोत सुकेपछि चौपायालाई पानी खुवाउन समाजसेवी सुरेन्द्रकुमार यादवले व्यक्तिगत खर्चमा माटो खनेर जलाशय गरेका हुन् । करिब १५ हजार रुपैयाँ खर्चमा बनाइएको उक्त जलाशयबाट जमिनमुनिबाट पानी निस्कन थालेपछि चौपायाले सहजै पानी पिउन पाएका छन् । ‘पानीको गम्भीर संकटमा सुरेन्द्रकुमार यादवको यो पहल अत्यन्तै सराहनीय छ’ स्थानीय निरज यादवले बताए ।
महादेवा गाउँपालिकाको वडा नं. १, २ र ३ का सयौं गाई, भैंसी, बाख्रा लगायतका चौपायाले अहिले दैनिक उक्त जलाशयमा गएर पानी पिउँदै आएका छन् । स्थानीय श्यामसुन्दर यादवका अनुसार, यसअघि नदी, खोल्सा र पोखरी सुक्दा चौपायाले तिर्खा मेट्न भौतारिनुपर्ने अवस्था थियो ।
स्थानीय पशुपालक महेन्द्र यादवले वर्षा नहुँदा जलस्रोतहरू सुक्दा चौपायाले बाटोमै पानी खोज्ने क्रम बढेको र कतिपय हराउने घटनासमेत दर्जनौं पटक भएको बताए । अर्का पशुपालक अरबिन्द मण्डलका अनुसार, पशु विमा नगरेकाले बिरामी हुँदा वा अकालमा मरेमा ठूलो आर्थिक क्षति हुने गरेको छ ।
पशु स्वास्थ्य सेवामा देखिएको कमजोरीप्रति चिन्ता व्यक्त गर्दै मण्डलले समय–समयमा चौपायाको स्वास्थ्य परीक्षण गरिनुपर्ने माग गरेका छन् । उनले जनतालाई अनुभूति हुने गरी स्थानीय सरकारले सेवा प्रवाह गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
पशुपालकहरूले पशु सेवा क्षेत्रमा सुधारको माग गर्दै सेवाग्राहीको गुनासो नआउने किसिमले प्रभावकारी कार्य सम्पादन गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् । सोनरामा गरिएको यो सानो प्रयास अहिले तराई–मधेशको खडेरी प्रभावित क्षेत्रका लागि प्रेरणाको स्रोत बनेको छ । पत्रकार देवराम यादवको फेसबुक वालबाट