रौतहट, ३ साउन — जबर्जस्ती करणी अभियोगमा फरार रहेका रौतहट राजपुर नगरपालिका–३ बलुवा गाउँका ७५ वर्षीय खुर्सैद खाँलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय गौरको टोलीले सूचना संकलन र अनुसन्धानमार्फत उनलाई नियन्त्रणमा लिएको हो। गत वर्ष २०८१ साल जेठ २७ गते आफ्नै गाउँकी एक दलित महिलामाथि बलात्कार गरेको आरोप लागेपछि खुर्सैद खाँ फरार थिए। प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार, फरार अभियुक्तको खोजीमा प्रहरीले विभिन्न स्रोत र सूचना प्रणाली प्रयोग गरी खाँलाई पक्राउ गर्न सफल भएको हो। “लामो समयदेखि खोजीमा रहेका खाँलाई पक्राउ गर्नु प्रहरीका लागि चुनौती थियो। अन्ततः टोलीको सक्रियताले सफलतामा पुर्यायो,” महतोले भने।
दलित महिला पीडित भएको यस घटनाले सामाजिक न्याय, मानव अधिकार र राज्य संयन्त्रको तत्परताप्रति गम्भीर प्रश्न उठाएको छ। जातीय विभेद र यौनजन्य हिंसा जस्ता संवेदनशील मुद्दामा राज्य निकायको भूमिकालाई प्रभावकारी बनाउन प्रहरीको यस किसिमको कदम सराहनीय मानिएको छ।
पीडित महिलालाई न्याय दिलाउने दिशामा यो कार्यले अन्य पीडितहरूलाई पनि हिम्मत दिने विश्वास लिइएको छ। साथै, यस्ता घटनाविरुद्ध सामाजिक चेतना अभिवृद्धि गर्दै जातीय विभेद र लैंगिक हिंसाको अन्त्यका लागि नागरिक समाज, राज्यसंस्था र सरोकारवालाबीच सहकार्य आवश्यक भएको मानव अधिकारकर्मीहरूले बताएका छन्।
अभियुक्तलाई आवश्यक कानुनी प्रक्रियाअनुसार जिल्ला अदालतमार्फत मुद्दा चलाइने प्रहरीले जनाएको छ।