सोनुको जिन्दगीको टर्निङ्ग प्वाइन्ट ‘टुवेल्थ फेल फूड प्वाइन्ट’ (हेर्नुहोस् अन्तर्वार्ता)

श्यामसुन्दर यादव
जनकपुरधाम । आफ्नै देशमा रोजगारी नपाएर युवाहरुमा निराशा बढिरहँदा सिरहाको गोलबजारका २१ वर्षिय सोनु कुशवाहा सङ्घर्षको बलमा असफलतालाई अवसरमा बदलेर उदाहरणीय बनेका छन् ।

केही महिना अघिसम्म भविष्यको खोजीमा भौतारिँदै आएका उनी मधेश प्रदेशको राजधानी जनकपुरधाममा ‘टुवेल्थ फेल फूड प्वाइन्ट’ सञ्चालन गरेर मनग्य आय आर्जन गर्न थालेका हुन् । हिजोसम्म कुनै विद्यालयको बसमा सहचालक खलासी त कहिले कपडा पसलमा कामदार रहँदैआएका सोनु यतिबेला आफै व्यवसाय सञ्चालक बन्न भएका छन् । आफै मालिक र आफै कामदार भएर काम गर्दैैै आएका उनले अन्यलाई समेत रोजगारी दिएका छन् ।

बाल्यकालदखिको कठोर सङ्घर्ष गर्दैआएका उनी कक्षा १२ मा तीन पटक लगातार फेल भएपनि हिम्मत हारेनन् । कही कतै सम्भावना नदेखेपछि उनी विदेश जानका लागि पासपोर्ट बनाएर विदेश जाने तयारीमा जुटेका थिए । हुन त उनलाई पनि विदेश जाने मन थिएन । तर, जीवन धान्ने गरी भरपर्दो काम नपाएपछि भारी मनले उनी हप्तौंसम्म एजेन्टकोमा धाइरहे ।

अत्यन्तै मेहनती स्वाभावका सोनुलाई साथीसङ्गीलाई विदेश नजान सुझाव दिए नै । उनलाई मन पराउने केटी साथीले ‘विदेशमा झन दुःख हुन्छ, त्यसैले बरु यतै केही गर्नु नै राम्रो हुन्छ’ भनी हौसला बुलन्द पारिन् । शुरुका केही दिन उनले युट्युबमा आइडियाहरु सर्च गरे । अन्ततः कम लगानीमा तुरुन्त आम्दानी आउने व्यवसायको रुपमा खाजा पसल नै उनले रोजे । केही युनिक गर्ने सोचका साथ उनले विदेश जाने चक्कर छाडेर काठमाण्डौमा खाजाको परिकार सम्बन्धी तालिम लिएर कर्मथलो जनकपुरधाम फर्किए ।

जनकपुरधाममा फुड प्वाइन्टका लागि सम्भावित ठाउँहरु खोज्नमै केही साता बिताए । अन्ततः उनले भानुचौकदेखि दक्षिण मोनास्टिक स्कूल तथा कलेजको छेउको ठाउँ रोजे । पसल त खोल्ने तर सबैथोक फरक होस् भन्ने उनको चाहना थियो । विदेश जानका लागि जोडजाम गरिएको पैसाले फलामको आकर्षक स्टल बनाए । अब नाम पनि युनिक नै राख्ने उद्देश्यका साथ साथीहरुसँग सुझाव मागे । ‘साथीहरुले तिमी १२ मा तीन पटक फेल भएछौं, त्यसैले ‘१२ फेल फूड प्वाइन्ट’ नाम सुझाए’ उनले भने ‘मलाई पनि मन पर्यो, त्यही नाम डन गरे ।’

पटक–पटकको असफलताले चिन्ता बढाए पनि जिन्दगीबाट विचलित नभई शुरुवात गरिएको ‘टुवेल्थ फेल फूड प्वााइन्ट’बाट राम्रै आम्दानी उनले कमाउन थालेका छन् । उनको जिन्दगीको टर्निङ्ग प्वाइन्ट बन्न पुग्यो ‘टुवेल्थ फेल फूड प्वााइन्ट’ । हरेक दिन विहान नौ बजे उनी पसल आइपुग्छन् । राती नौ बजेसम्म उनको पसलमा खासगरी कलेज तथा स्कूलका विद्यार्थी मात्र होइन, सबै उमेर समूहका पारखीहरु पुग्ने गर्छन् । दैनिक कमाइबारे खुलाउन नचाहेका उनी भन्छन् ‘विदेशमा दुःख गर्नेहरुभन्दा राम्रै कमाइ हुन्छ सर, जेहोस् जिन्दगी राम्रै चल्न थालेको छ ।’

गरिब परिवारमा जन्मिएका सोनु १२ वर्षको उमेरमा कामको खोजीमा बस चढेर जनकपुरधाम आएका थिए । परिवारमा बुवाले समेत साथ नदिएपछि उनले जीवन धान्न न्यू लाइफ बोर्डिङ्ग स्कूलमा बसको खलासीको काम गर्न थाले । पछि गोलबजार स्थित माध्यमिक विद्यालयबाट एसईई उतीर्ण गरी उनले अगाडिको अध्ययनलाई निरन्तरता पनि कक्षा १२ मा भने उनलाई असफलताले साथ छोडेन ।

दिदीको विहे भइसकेपछि आमा सोनुसँगै बस्दैआएकी छिन् । पसलमा आमाले समेत सघाउँदैआएका छिन् । ‘दुनियाँले मलाई साथ दिन्छ वा दिदैन, थाहा छैन तर आमा त साथ हुनुहुन्छ नि १’ सोनु भन्छन् ‘मलाई हौसला बुलन्द गर्ने तथा प्रोत्साहन गर्ने पर्दा पछाडिको हिरोइन अर्थात मेरो गर्लफ्रेन्ड हो, जो मलाई कहिल्यै निरुत्साहित गर्नुभएन, बरु विदेश नगई आफ्नै खुट्टामा उभिन सल्लाह दिइरहिन् ।’

कहिले स्कूल त कहिले कपडा पसलमा कामदार भएर लामै समय काम गरेकोमा आफै चाहिँ अहिले फूड प्वाइन्टको सञ्चालक भनेर चिनाउँदा उनी गर्व गर्छन् । उनी भन्छन् ‘परीक्षा मात्रै फेल भएँ तर जीन्दगीको परीक्षामा म फेल भएको छैन ।’ स्वादिला  परिकार बनाउन माहिर मानिएका उनको पसलमा चाउमिन, मोमो, स्याण्डविच, बर्गर, एग रोल, कोल्ड कफी लगायतका परिकारहरु फेमस छन् ।

युवा जमात रोजगारीका लागि विदेश पलायन हुने क्रम तीब्र रुपमा भइरहेकोप्रति उनी चिन्तित छन् । ‘हाम्रै देशका कर्मशील युवाहरु अन्य देशलाई श्रम र सीपले विकसित बनाउँदैछन् तर हामी भने झन पछाडि पर्दैछौं’ उनी थप्छन् ‘सरकारले युवा पलायनलाई रोक्न स्वदेशमै रोजगारीका अवसरहरु श्रृजना गर्नुपर्दछ, हामी सबै मिलेर आफ्नो देश बनाउनुपर्दछ ।’

निराशा र लाज त्यागेर मेहनतको बलमा आफै आफ्नो खुट्टामा उभिने प्रयासमा लाग्नुपर्ने उनको तर्क छ । आफ्नै पीडादायी अतित सम्झिदै केही गरेर आत्मनिर्भर बन्न अगाडि बढ्नुपर्ने युवा जमातलाई उनको सुझाव छ । जिन्दगीमा जस्तोसुकै समस्या आए पनि हार मान्नु भन्दा हिम्मतका साथ अगाडि बढ्नुपर्ने अनुभव सुनाउँदै सोनु भन्छन् ‘हरेक व्यक्तिमा कुनै न कुनै विशेष खुबी हुन्छ, त्यसैले आफुले आफैलाई चिन्नुपर्दछ, केही गरौं तर युनिक गरौं, सफलता निश्चित छ ।’

हेर्नुहोस् अन्तर्वार्ता:

Author:



क्याटोगरी छान्‍नुहोस