राजविराज, १३ साउन । मधेश कृषि विश्वविद्यालय (एमएयू) र भारतको डा. राजेन्द्रप्रसाद केन्द्रीय कृषि विश्वविद्यालय (आरपीसीएयू)बीच कृषि शिक्षाको विकास, अनुसन्धान, प्रविधि हस्तान्तरण र शैक्षिक सहकार्यका लागि सोमबार औपचारिक सम्झौता भएको छ।
२०७८ मंसिर २७ मा मधेश प्रदेश सरकारको पहलमा स्थापित एमएयू र सन् १९०५ मा स्थापना भई २०१६ मा भारत सरकारद्वारा केन्द्रीय विश्वविद्यालयको मान्यता पाएको आरपीसीएयूबीच भएको यस सम्झौताले दुवै देशका विद्यार्थी र अनुसन्धानकर्ताबीच अनुभव आदान–प्रदान गर्ने वातावरण तयार गर्नेछ।
सम्झौताअनुसार प्रविधिको संरक्षण तथा व्यापारीकरण, बौद्धिक सम्पत्ति अधिकारको सुरक्षा, आधुनिक प्रविधिको साझा प्रयोग, प्रबुद्ध समूहका बैठकमा सहभागिता, शिक्षा पद्धतिमा सुधार र आवश्यकताअनुसार सेमिनार तथा कार्यशालाहरू सञ्चालन जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ।
मधेश कृषि विश्वविद्यालयका रजिष्ट्रार डा. श्रीभगवान ठाकुरले दुई देशको कृषि विविधतासँग मेल खाने प्रविधि र अनुसन्धान साझेदारीमा विशेष चासो दिइएको बताए। उनका अनुसार यस सहकार्यले नेपाल–भारतबीचको शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउन मद्दत पुर्याउनेछ।
सम्झौता हस्ताक्षर कार्यक्रममा मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. बैद्यनाथ महतो, रजिष्ट्रार डा. ठाकुर, समस्तीपुर विश्वविद्यालयका रजिष्ट्रार डा. मृत्युन्जय कुमारलगायतका अधिकारीहरूको उपस्थिति थियो।