राजगढ गोलीकाण्ड: अनुसन्धानका लागि खटियो मानव अधिकार आयोगको टोली

राजविराज, २३ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीको गोलीबाट मृत्यु भएका युवा लालु यादवको घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयबाट टोली खटिएको छ ।

गत साउन २० गते मंगलबार राति भारततर्फ मदिरा तस्करी नियन्त्रण गर्न प्रहरी परिचालित भएको समयमा प्रहरीले चलाएको गोली लागेर लालु यादवको ज्यान गएको थियो । घटनामा मृतकका आफन्त र स्थानीयवासीहरू आक्रोशित भई राजविराजमा विरोध प्रदर्शन गरेका थिए । सोही क्रममा प्रदर्शनकारी र प्रहरी बीच सामान्य झडप समेत भई राजविराज बजार क्षेत्र तनावपूर्ण बन्न पुगेको थियो । सर्वपक्षीय सहमती पश्चात हाल विरोधका कार्यक्रमहरु फिर्ता लिई मृतकको अन्तिम संस्कार गरिएको छ ।

मदिरा तस्करी कार्य नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा यादवको मृत्यु भएको विषयमा आफन्त र स्थानीयवासीबाट आपत्ति प्रकट भई मृतकको बाँच्न पाउने मानव अधिकार उलङ्घन भएको भनी विरोध भएकोले उक्त घटना सन्दर्भमा आयोगको मधेश प्रदेश कार्यालयको ध्यानार्षण भएको भनी शुक्रवार कार्यालय प्रमुख तथा सहसचिव बुद्धनारायण साहनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

घटनाको अनुसन्धानका लागि आजै (शुक्रवार) एक अधिकृतस्तरीय टोली जनकपुरधामबाट घटनास्थलतर्फ प्रस्थान गरेको भन्दै अनुसन्धानमा सहयोग गर्न सबैसँग आयोगले अनुरोध गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस