राजविराज, २३ साउन । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ स्थित कटैयामा आज (शुक्रवार) विहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
खेतमा पानी पटाउनका लागि विद्युत मोटर चलाउने क्रममा करेन्ट लागेर ४२ वर्षिय शम्भु ईशरको मृत्यु भएको हो । विहान करिब पाँच बजेको समयमा अचानक करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिएका छन् ।
उनी गाउँमै कुटानी पिसानी तथा तेल पेल्ने मिल सञ्चालन गर्दैआएका थिए । सिंचाई सुविधा उपलब्ध नरहेकोले त्यस भेगका किसानहरु विद्युत मोटरबाट खेतमा पानी पुर्याउने गर्छन् । कृषि मिटर लिएकाहरुले पनि तारमा हुकिङ्ग गर्ने, नाङ्गो तारको प्रयोग तथा मोटर जडान गर्न पावर सकेट प्रयोग नगरी नाङ्गो विद्युतीय जडान गर्ने जस्ता असुरक्षाका कारण करेन्ट लागेर अकालमै ज्याने गुमाउने क्रम बढ्दो छ ।