राजविराज, २२ साउन । एभिन्युज टेलिभिजन मधेस प्रदेशका विशेष संवाददाता बैद्यनाथ यादवमाथि बुधबार साँझ भएको आक्रमणप्रति प्रेस मञ्च नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचार सङ्कलन तथा संप्रेषणको क्रममा राजविराज स्थित सहिद दशन चोकमा भएको योजनाबद्ध आक्रमणप्रति प्रेस मञ्च नेपाल संघीय समिति कार्यवाहक अध्यक्ष मनोज कुमार यादवले प्रेस विज्ञपति जारी गर्दै गम्भीर आपत्ती जनाएका हुन् ।
का. वा. अध्यक्ष यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्रको चौथो अंग प्रेसमाथि कार्यक्षेत्रमै भएको यस्तो अराजक र उच्छृंखल समूहको आक्रमण लोकतान्त्रिक मूल्य मान्यता र कानुनी राज्यको उल्लंघन भएको उल्लेख गरिएको छ।
घटनाका क्रममा सप्तरीको राजगढ गाउँपालिका–२, कमलपुर निवासी ३७ वर्षीय लालु यादवको प्रहरीको गोलीबाट मृत्यु भएको विषयमा स्थानीय संघर्ष समिति, जनप्रतिनिधि र नागरिकहरूसँग प्रत्यक्ष संवाद गरिरहँदा पत्रकार यादवमाथि हमला भएको जनाइएको छ।
प्रेस मञ्चका केन्द्रीय उपमहासचिव यादवमाथिको उक्त घटनाको घोर भर्त्सना गर्दै दोषीहरूको तत्काल पहिचान गरी कडा कारवाही गर्न माग गरेको छ। साथै, पत्रकारको कार्यस्थलमा सुरक्षाको प्रत्याभूति गर्न र शान्तिपूर्ण समाचार संप्रेषणको वातावरण सुनिश्चित गर्न सम्बद्ध निकायहरूलाई आग्रह गरेको छ ।
संघीय समितिले नेपाल पत्रकार महासंघ लगायत सम्पूर्ण सञ्चारक्षेत्रका सरोकारवाला निकायहरूलाई गम्भीरताका साथ आवश्यक कदम चाल्न पनि आह्वान गरेको छ।